१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्वार्ता

हाम्रो एक मात्र उद्देश्य उन्नत राष्ट्र निर्माणः सांसद् महतो

यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुन सकेको छैन। आर्थिक क्षेत्रमा एउटा पक्ष बिग्रिनेबित्तिकै त्यसले सबैतिर असर पार्छ। अर्थतन्त्रले उद्योगी-व्यवसायीदेखि गृहिणीसम्मलाई असर पारेको छ। महँगी नियन्त्रण गर्ने, सुशासन कायम, भौतिक पूर्वाधार निर्माण लगायत महत्त्वपूर्ण काम प्रभावकारी रूपमा हुन सकेका छैनन्। सरकार परिवर्तन भएपछि जनताले यस दिशामा केही सकारात्मक परिणाम प्राप्त हुन्छ भन्ने आशाचाहिं गरेका छन्।

अहिले दिनहुँजसो मिटरब्याजपीडित, सहकारीपीडितका समस्या, किसानका समस्या, उद्योगी-व्यवसायीका समस्या सार्वजनिक भइरहेका छन्। सुशासनको प्रत्याभूति हुन सकेको छैन। सरकारले सेवाप्रवाह सहज रूपमा गराउन नसकेको जनताले गुनासो गरिरहेका छन्।

मुलुकका लागि अत्यावश्यक कानुन शीघ्र पारित गरेर कार्यान्वयनमा जानुपर्छ जस्तो लाग्छ। कतिपय नियमावली पनि संसदले नै बनाउने हो तर संसदभित्रकाे  प्रक्रिया लामो हुने भएकाले एउटा विधेयक पारित गर्न पनि धेरै समय लागेको देखिन्छ। हाम्रो संसदमा दलीय प्रभाव ठूलो छ। सांसदहरू पनि स्वतन्त्र हुन सकेका छैनन्। जति भूमिका सांसदको हुनुपर्ने हो त्यति हुन पाएको छैन।

संसदमा कुनै पनि दलको अहिले एकल बहुमत छैन। यस्तो अवस्थामा गठबन्धन सरकार बन्नु स्वाभाविक हो। तर, एकल बहुमतसहितको सरकार भए त्यो पाँच वर्ष चल्थ्यो, र त्यसले मुलुकको विकास, समृद्धि र स्थायित्व दिन सक्थ्यो।

छिटोछिटो सरकार परिवर्तन हुने भएपछि धेरै काममा बाधा उत्पन्न हुन्छ। अघिल्लो सरकारले ल्याएका कतिपय विधेयक अलपत्र पर्ने र नयाँ विधेयक ल्याउन पनि समय लाग्ने अवस्थाले समग्र कानुन निर्माणमा नकारात्मक प्रभाव पारेको स्पष्टै छ।

अझ सानातिना विषयमा पनि सदन अवरुद्ध गर्ने परिपाटी मौलाएको छ। जनताका सुखदुःखको कुरा उठाउने सम्मानित सदनलाई दलभन्दा माथि उठेर सोच्न र व्यवहार गर्नुपर्छ। संसद् अवरोध नगरी आफ्ना विषयवस्तु राख्ने, सरकारको ध्यानाकर्षण गराउने र दबाब दिने अरू उपायतर्फ विचार गर्नुपर्ने बेला आइसकेको छ।

अहिले कामको खोजीमा होस् वा अध्ययनका लागि युवाको विदेश पलायन तीव्र गतिमा भइरहेको छ। देशमा केही नै छैन र यहाँ केही पनि हुँदैन भन्ने सोच हाबी छ। सरकारले हाल बन्द भएका उद्योग पुनः सञ्चालन गर्न र नयाँ उद्योगको अवधारणा ल्याएर देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ।

शिक्षामा पनि व्यापक सुधारको खाँचो छ। देशभित्रै सुलभ र सहज रूपमा उच्च अध्ययन गर्न पाउने वातावरण मिलाउन ढिला भइसक्यो। अहिले आफूले रोजेको विषय पढ्न चाहना राख्ने मेधावी विद्यार्थीले पनि भर्ना नै हुन पाउँदैनन्। कतिपय शैक्षिक संस्थामा शुल्क निकै महँगो छ। विश्वविद्यालयमा छिटो काम नहुने, परीक्षाफल ढिलो प्रकाशित गर्ने आदि समस्या वर्षौदेखि देखिएका छन्।

नेपाललाई शिक्षाको हब बनाउन सकिने सम्भावना प्रशस्त छ। विदेशी विद्यार्थीले पनि नेपाली शिक्षण संस्थाबाट शिक्षा लिन सक्ने वातावरण बनाउन सकिन्छ। तर जति कार्यान्वयन हुनुपर्ने हो, त्यो पाटोमा भने ध्यान दिन सकिएको छैन।

मुलुक सङ्घीयतामा गइसकेपछि अहिले तीन तहको सरकार छ। मेरो जोड भनेकै तीनै तहका सरकारले सेवाप्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने हो। म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्छु। त्यहाँ अहिले धेरैजसो खेत बाँझो हुन थालेको छ।

कृषिप्रधान देश भन्छौं नेपाललाई। कृषिमा हामी आत्मनिर्भर कसरी गराउन सक्छौं भन्ने महत्त्वपूर्ण पाटो हो। हरेक उत्पादनमा रोजगारी जोडिन्छ। बेरोजगारीको समस्या समाधान मुखले भनेर हुँदैन। जबसम्म देशमा चाहिने कुरा पूरा हुँदैनन्, पानीबिनाको माछा जस्तै हुन्छ। जस्तै, रोजगारी र खानेकुरा नभई नहुने हुन्। अहिले हामीले ठूला कुरा सोच्नुभन्दा पनि हाम्रो जग कसरी बलियो बनाउने भन्नेमा सोच्नुपर्छ। उत्पादनतिर जोडेनौं भने हाम्रो जग बलियो हुन सक्दैन।

दुःखका साथ भन्नुपर्छ, अहिले हाम्रो मुलुकमा भ्रष्टाचार व्याप्त छ। चुहावट छ। किसानले समस्या भोगेकै छन्। समयमा मलखाद पाउँदैनन्। पूर्वाधार धेरै बन्न बाँकी छन्। पूर्वाधार नभई त विकास नै हुँदैन। कैयौं उद्योग बन्द छन्। खुलेका पनि राम्ररी चल्न सकेका छैनन्। सरकारी अस्पतालमा चाप बढी छ। निजी अस्पतालमा शुल्क महँगो छ। विद्यालयमा पनि त्यही समस्या छ। खेलकुदका लागि मैदान छैन।

अहिले विश्वभर नै आर्थिक मन्दी छ। जनताले भोग्नुपरेका महँगी, बेरोजगारी लगायत समस्या समाधानतर्फ वर्तमान सरकारले विशेष ध्यान दिनेमा म आशावादी छु। सबैले साझा सङ्कल्पका साथ मिलेर देश विकासका निम्ति आआफ्नो क्षेत्रबाट इमानदार प्रयास गर्नुपर्छ। हामी सबैले जे जानेका छौं त्यो गरौं।

प्राकृतिक स्रोतले धनी देश हो नेपाल। अहिले नै सोच्यौं भने भोलिका पुस्ताका लागि काम लाग्छ। हाम्रो एक मात्र उद्देश्य उन्नत राष्ट्र निर्माण हो। जनतालाई महसुस हुने गरी हामी सबैले काम गर्नुपर्छ। निजी र सहकारी क्षेत्र दुवैले हातेमालो गरेर अघि बढ्नुपर्छ। देश र जनहितका काम गर्न  अब किञ्चित् विलम्ब गर्नु हुँदैन।

सांसद जुलीकुमारी महतोको परिचय

जुलीकुमारी महतो नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद हुन्। उनी धनुषा जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन्। नेकपा (एमाले) का विभिन्न पदमा रहेर सक्रिय राजनीतिमा आबद्ध उनी यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थिइन्।

(सांसद महतोसँग राससकर्मी बुनु थारूले गरेको कुराकानीको सम्पादित अंश।)

प्रकाशित: ४ वैशाख २०८१ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App