१७ फाल्गुन २०८० बिहीबार
अन्तर्वार्ता

२०८४ अघि नै समाजवादी मोर्चा बन्छ

नेत्रविक्रम चन्द ‘विप्लव’, महासचिव, नेकपा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका महासचिव हुन्। सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका विश्वसापात्र रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी सरकार र माओवादीबीच २०६३ सालमा भएको विस्तृत शान्ति सम्झौतापछि भने नेतृत्वसँग असन्तुष्ट रहे। २०७१ सालमा तत्कालीन एकीकृत माओवादीसँग छुट्टिएर नेकपाको नेतृत्वमा रहेका चन्दसँग नागरिक दैनिकका लागि सहकर्मी दिनेश सुवेदीले गरेको कुराकानी 

तपाईंको बाल्यकाल तथा राजनीतिक यात्राबारे बताइदिनुस् न।

मेरो जन्म २०२४ फागुन ११ गते रोल्पाको परिवर्तन गाउँपालिका-३ इरिवाङको केवरीमा भएको थियो। मध्यमवर्गीय किसान परिवारमा जन्मेको मेरो किशोरावस्था रोल्पामै बित्यो। सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना माविबाट एसएलसी पास गरेँँ।

२०३९ सालमा अखिल छैटौंबाट राजनीतिक यात्रा सुरु भयो। त्यसको ४ वर्षमै छैटौंको रोल्पा जिल्ला अध्यक्ष बनेको थिएँ। माओवादी सशस्त्र द्वन्द्व सुरु हुँदा विद्यार्थी संगठनमा उपाध्यक्ष थिएँ। साथै २०५२ फागुन १ गतेदेखि जनयुद्ध थालनी हुँदा विद्यार्थी संगठनका साथै पार्टीको ललितपुर सचिव पनि थिएँ। २०५४ सालमा कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज हुँदै राजनीतिमा अघि बढेको हुँ।

सशस्त्र द्वन्द्वका बेला पार्टी नेतृत्वको विश्वासपात्र बनेर लड्नुभयो तर पछि किन असन्तुष्ट भएर अलग हुनुभयो?

हामीले वैज्ञानिक समाजवादलाई अंगीकार गरेका छौं। २०६३ मंसिर ५ गते पार्टीले शान्ति सम्झौताका नाममा जुन बाटो समात्यो, त्यसले वैज्ञानिक समाजवादतर्फ लैजाँदैन। अर्को कुरा हामीसँग विस्तृत शान्ति सम्झौता गर्नुअघि छलफल पनि गरिएन।

२०५२ सालमा माओवादी सशस्त्र द्वन्द्व सुरु गर्दैगर्दाको नेपाल र अहिलेको नेपाललाई कसरी चित्रण गर्नुहुन्छ?

भौतिक संरचनामा केही परिवर्तन त भएको छ तर जनताको अपेक्षा, चाहना र आर्थिक जीवन पद्धतिमा खास परिवर्तन हुन सकेको छैन। त्यसले जनतालाई ठूलो बेचैनी बढिरहेको मैले देखेको छु।

किन त्यसो भयो?

त्यसका पछाडि संक्रमणकाललाई नेतृत्व गर्ने नेताहरूको क्षमतामा समस्या देखापर्‍यो। खासगरी संघर्ष, क्रान्ति, जनयुद्ध र जनआन्दोलनपछि आएको नेतृत्वले जनताको चाहना अनुरूप राजनीतिक स्थिरता, आर्थिक समृद्धि अथवा सुशासन देशको स्वाधीनताको पक्षमा जसरी तदारुकताका साथ काम हुनुपथ्र्यो तर भएन।

२०५२ सालदेखि तपाईहरू आजसम्म क्रान्ति भन्दै हुनुहुन्छ। यसको निकास कहाँनेर छ?

राजनीतिक स्थिरता चाहिन्छ। नेपालमा कस्तो प्रणालीले नेतृत्व गर्ने हो या एउटा शासकीय प्रणाली नै यति अस्थीर बन्यो कि कुनै सरकार तीन वर्ष पनि चल्न पाएको छैन। कुनै सरकारको नेतृत्वले दीर्घकालीन योजना बनाएको छैन।

देशलाई हिँडाउने दिशानिर्देश गर्न सकेको छैन। आर्थिक क्षेत्रमा ठोस नीति अगाडि सारिएका छैनन्। रोजगारी, उद्योगधन्दा, कलकारखानाका कुरा, शिक्षा स्वास्थ्यका कुराहरूमा सुधार आउन सकेको छैन। त्यसलाई समाधान गर्ने गरी एउटा नयाँ प्रणालीको अवधारणा अगाडि सार्नुपर्छ।

तपाईंहरूले सुरु गरेको एकीकृत जनक्रान्ति र संसदीय व्यवस्थाको मिलनबिन्दु कतै देख्नुहुन्छ? समाजवादी मोर्चा तयार गर्नलाई मिलन बिन्दु अर्थात् ‘लेनदेन’ त होला नि?

नेपाली विशेषताको समाजवाद। पहिले वैज्ञानिक समाजवाद भन्थ्यो अहिले सबै दल पक्षलाई पनि मान्य हुनेगरी साझा रूपमा ढालेर नेपाली विशेषताको समाजवादमा सहमति हुन सक्छ।

यहाँहरूले क्रान्ति भन्न थालेको  करिब तीन दशक भयो। जनतामा छाैं भन्नुहुन्छ तर पछिल्लो समय उदाएकाशक्ति तपाईंहरूभन्दा किन बलियो देखिँदैछन्?

प्रचारात्मक पक्षबाट त्यो देखिन्छ। संख्याको हिसाबले पनि नागरिकहरूको रोजाइमा त्यो गएको छ। तर कुनै ठोस नीति, विचार अगाडि सारेर परिणाम दिएर जनतालाई आबद्ध गरेकोभन्दा पनि अहिले नेतृत्व गरिरहेका पार्टीहरूले सही प्रकारले जनताको अपेक्षा सम्बोधन नगर्दाको परिणाम हो। तर उहाँहरूलाई पनि त्यो अधिकार छ। प्रतिस्पर्धामा जान पाइन्छ।

भर्खरै सुरु भएको राजावादीको आन्दोलनलाई कसरी हेर्नुभएको छ?

त्यो पनि संसदीय राजनीतिको असफलतासँग जोडिएको छ। केही नागरिकले त्यहाँ पनि सहभागिता देखाएका छन्। त्यो समाधानको बाटो होइन। २५० वर्ष राजतन्त्र झेलेर नै यहाँसम्म आएको हो। राजाले स्वतन्त्र नागरिकका रूपमा राजनीति गर्न पाउँछन् र पाउनुपर्छ। उनले देशको स्वाधीनताका लागि सहकार्य गर्न चाहन्छन् भने त्यो पनि स्वभाविक हो। तर, राजा नै फर्काउने सोच्नुभएको हो भने नेपालको निकास हैन। जनताले पनि स्वीकार गर्दैनन्। सम्भव छैन।

जनतालाई अलमल भयो। राजावादीकोमा जाने कि नयाँशक्तिको पछि लाग्ने ? तपाईंहरूतिर लाग्ने कि पुरानैसँग बस्ने ? माओवादी आन्दोलनको आधार इलाका रोल्पा रुकुमसँगै देशभरका धेरै युवा यहाँहरूले साम्राज्यवादी भनेर भन्ने गरेको देश अमेरिका पुगेका छन् त्यो पनि गैरकानुनी बाटोबाट। नेपाली विशेषताको समाजवाद युवाविना सम्भव छ?

यसका लागि नेपालको शिक्षा नीतिमा सुधार गर्नुपर्छ। यहाँका किशोर र युवालाई राष्ट्रप्रेमबाट ओतप्रोत शिक्षा दिनुपर्छ। वैज्ञानिक शिक्षा दिनुपर्छ। रोजगारमूलक व्यावहारिक शिक्षा पुर्‍याउनुपर्छ।

युवालाई देशमै बसेर आफ्नो विकास निर्माण र समृद्धिको सपना देख्ने बनाउनुपर्छ। आत्मनिर्भर बनाउने खालको उत्पादनमा जोड दिनुपर्छ। यी कुरा भए भने विदेश जाने होइन गएकालाई फर्काउन सकिने सम्भावना हुन्छ।

आशा गर्ने ठाउँ छ?

निश्चय नै छ।

१० वर्ष चलेको युद्धका समयमा बैंक लुट्न थालेपछि माओवादीमा विचलन आएको भनेर युद्ध लडेकैहरू नै भन्छन् । अहिले त्यही प्रकृतिको आरोप तपाईंहरूमा पनि लाग्न थालेको छ। तपाईं नेतृत्वको पार्टीले पनि आर्थिक हिसाबकिताब पारदर्शी गरेन भन्ने आरोप छ नि?

यो सय प्रतिशत झुट कुरा हो। एउटा त जनयुद्धमा बैंक कब्जा भएपछि विचलन आयो भन्ने कुरा पटक्कै सत्य हैन। त्यसबेला माओवादीमा एउटा नीति थियो। सियो र धागो पनि सित्तैमा नलिनू, हिसाब देखाउनू। नेता, कार्यकर्ता र जनताको जीवनसँगै थियो। कुनै समस्या नै थिएन। त्यहीँभित्र एकदुई जना धुर्तहरूले यताउता छट्टुपट्टु गरे होलान्। छोराछोरी काठमाडाैं लगेर पढाउने गरे होलान्। त्यो छुट्टै कुरा हो अपवाद हो।

अहिले हाम्रो पार्टीमा त झन् कहीँ कतै अलिकति पनि त्यो समस्या छैन। केवल पूर्वाग्रह मात्र हो। बरु हामी आत्मनिर्भर अर्थतन्त्रको अभियानमा छौं। आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ताको नीतिलाई अगाडि सारेपछि हामीसँग बचत नै छ नि। हामीसँग अहिले खाद्य भण्डार छ। हामीलाई खानका निम्ति भौतारिनपर्ने अवस्था छैन।

संक्रमणकालीन न्यायको वर्तमान अवस्थालाई कसरी हेर्नु भाएको छ?

नेतृत्वको अभाव हो। नेतृत्वसहित संक्रमणकालमा धकेलिएपछि कुहिरोको काग जस्तै भएको छ। जे मन लाग्यो त्यो व्याख्या गर्ने काम भएको छ।

यो विषयमा तपाईंहरूको छलफल सल्लाह हुन्छ?

जनयुद्ध न्यायपूर्ण विद्रोह थियो। त्यो बेलाका सम्पूर्ण संघर्षहरू विद्रोह र प्रतिरोधका संघर्ष थिए। त्यो क्रान्तिलाई राज्यले आफ्नो स्वामित्वमा ग्रहण गर्नुपर्छ। त्योभित्रका समस्या के हुन् सुल्झाउनु पर्छ। त्यसो गर्‍यो भने सोझो हुन्छ। त्यसो नगरेर सिंगो जनयुद्धबारे भ्रम छरेर छानबिन गर्छु भन्यो भने चोरलाई साधु र साधुलाई चोर बनाउने हुन जान्छ, जुन गलत हुन्छ।

युद्ध पनि लड्नुभो। भोग्नुभो। अहिले अलि फरक राजनीति गर्दै हुनुहुन्छ। अब देश कता जान्छ? एकीकरणका लागि समाजवादी मोर्चाको कुरा चलेको छ। सम्भावना कति छ?

एकदमै राम्रो छ। निकै सुझबुझकासाथ व्यापक छलफल गरेर निर्माण गरेको समाजवादी मोर्चा हो। नाम नै समाजवादी मोर्चा भइसकेपछि यसले आजको राज्यलाई समाजवादमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। त्यो लक्ष्यमा हामी अगाडि बढ्छौं। मचाहिँ आशावादी छु। २०८० भित्रै त भन्न सकिन्न। २०८४ अघि चाहिँ पक्कै हुन्छ। त्यसबेलासम्म ठूलो हेरफेर आउँछ।

अन्त्यमा के भन्न चाहनुहुन्छ?

हामीसँग सबै चिज छ। खानी छ पानी छ, वन छ, जडिबुटी, स्रोतसाधन छ, जाँगरिला नेपाली छन्। सबै भएको सन्र्दभमा हामीलाई एउटा स्थिर खालको राज्य प्रणाली चाहिएको छ। सुझबुझपूर्ण नेतृत्व चाहिएको छ। हामीले त्यो निर्माण गर्ने आँट गर्नुपर्छ। निरास हुन जरुरी छैन। यो शताब्दीमा फेरि नेपाललाई अन्योलबाट नयाँ क्षितिजतिर बढाउन सक्छौं। 

प्रकाशित: १७ मंसिर २०८० ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App