coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

‘बर्दियाबारे काठमाडौंमा हल्ला हुनु जरुरी’

नागरिककर्मी निर्मल घिमिरेले गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेसँग बर्दियामा पर्यटक भित्र्याउन के गर्नुपर्ला जस्ता विविध विषयमा गरेको संवार्ता:

बर्दियामा पर्यटक भित्र्याउन के गर्नुपर्ला?

धेरै सम्भावना भएर पनि ओझेलमा परेको जिल्ला महसुस भएको छ। वाइल्ड लाइफ डेस्टिनेसनको हल्ला काठमाडौंमा हुनेबित्तिकै पर्यटक थेग्न सकिँदैन जस्तो लाग्छ। पर्यटक भित्र्याउने पहल सबैबाट भएको खण्डमा समृद्ध बर्दियामा पर्यटक भित्र्याउन मात्र सम्भव छ। विशेषगरी यहाँ तीनवटा पूर्वाधार निर्माणको खाँचो छ। सदियौंदेखि पहल भइरहे पनि जनताको माग पूरा हुन सकेको छैन। सर्वप्रथम मुर्तिहा–गुलरिया नाका, गुलरिया, भुरिगाउँ र तेलपानी सडकखण्ड पहिलो चरणमा गरिनुपर्ने पूर्वाधार निर्माणका काम हुन्। तब मात्र ठाकुरद्वारा देशसँग जोडिन्छ। भारतीय पर्यटक पनि आउन थाल्छन्।

पर्यटकलाई कहाँ घुमाउन सकिन्छ त?

पर्यटकलाई एक सातासम्म घुमाउन सक्ने ठाउँ छन्। ठुलो क्षेत्रफलमा फैलिएको ऐतिहासिक पृष्ठभूमिको बढैया ताल, कृष्णसार संरक्षण क्षेत्र, कोठियाघाट पुल, बारबर्दियाको सहिद पार्क र बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउन सकिन्छ। निकुञ्जमा देखिने बाघ, कर्णालीमा गरिने र्‍याफटिङ, त्यसका लागि होमस्टेलाई प्रवद्र्धन गर्न जरुरी छ। यसका लागि प्रचारप्रसारको आवश्यकता पनि उत्तिकै छ।

निजी क्षेत्र पर्यटन प्रवर्द्धन गर्न किन सुस्ताएको छ?

निजी क्षेत्र पर्यटन प्रवर्द्धन हुनुपर्छ भन्नेमा चिन्तित छ। निजी क्षेत्रको लगानीमा ठुला होटल खुलेका छन्। सोचेजतिका पर्यटक नआउनुमा धेरै कारण छन्। वाइल्ड लाइफ डेस्टिनेसन हो भन्ने अन्तर्राष्ट्रिय क्षेत्रमा हल्ला भए पनि काठमाडौंमा त्यो प्रचार वा हल्ला हुन नसक्नु मुख्य कारण हो। दुरीको हिसाबले काठमाडौंदेखि बर्दिया टाढा छ। बर्दिया घुम्न आउन पर्यटकलाई हवाई भाडा महँगो पर्छ। बसमा आउँदा एक दिन खेर फाल्नुपर्ने हुन्छ। भूगोल अब नजिकिइसकेको छ। सडक पूर्वाधार ठाकुरद्वारामा पक्की बनेको छ। औरही पुल बन्दा वर्षा र हिउँदमा सजिलै ठाकुरद्वारा पुग्न सकिन्छ।

होमस्टेले पर्यटन भित्र्याउन सहयोग पुग्छ?

डल्ला होमस्टे पश्चिम नेपालमा चर्चित छ। थारुले चलाएको होमस्टेले पर्यटनमा नयाँ आयाम थपेको छ। त्यसैको सिकाइ गर्दै रम्बापुर, खैरापुर र गेरुवा गाउँपालिकाको जनकनगरमा होमस्टे खुलेका छन्। जनकनगरले धेरै राम्रो गरिसकेको छ। पर्यटक पारिवारिक वातारणमा बस्न चाहन्छन्। सस्तोमा लोकल फुड होमस्टेमा पस्कन्छन्। थारु परिकारमा पर्यटक मोहित हुन्छन्। घोंघी, गँगटा, महुवाको रक्सी, लोकल कुखुरा र माछा होमस्टेमा पाइन्छ। होमस्टेमा थारु संस्कृतिको पुनः जागरण भएको छ। 

प्रकाशित: १४ माघ २०७९ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App