अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार दाबी गरेका थिए कि यूक्रेन युद्धलाई चुनावबाट बच्न प्रयोग गरिरहेको छ। उक्त टिप्पणीको जवाफमा यूक्रेनका राष्ट्रपति जेलेन्सकीले त्यस्तो नभएको बताएका छन्। मतदानको सुरक्षा अमेरिकी तथा अन्य सहयोगी मुलुकहरूले सुनिश्चित गरिदिए देश चुनावका लागि पूर्ण रूपमा तैयार रहेको उनले बताए।
‘यदि अमेरिका र हाम्रा युरोपेली साझेदारहरूले चुनावको सुरक्षा सुनिश्चित गरिदिए, 'पत्रकारहरूसँग कुरा गर्दै जेलेन्सकीले भने, ‘हामी ६० देखि ९० दिनभित्रै चुनाव गराउन सक्छौँ।’
उनका अनुसार युद्ध लम्बिनुको कारण आफू पदबाट टाँसिएको हो भन्ने आरोप पूर्ण रूपमा ‘निराधार कथा’ हो।जेलेन्सकीको पाँच वर्षे कार्यकाल मे २०२४ मा सकिनुपर्ने थियो, तर रूसको आक्रमणपछि लागू भएको ‘मार्शल–ल’का कारण चुनाव स्थगित गरिएको छ। उनले २०१९ मा ७३ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका थिए।
‘पोलिटिको’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले यूक्रेनको लोकतन्त्रमाथि प्रश्न उठाउँदै भनेका थिए, ‘उनीहरू लोकतन्त्रको कुरा गर्छन्, तर अहिले त्यहाँ लोकतन्त्र नै छैन।’
यता रूसले निरन्तर रूपमा जेलेन्सकीलाई ‘अवैध राष्ट्रपति’ भन्ने दाबी गर्दै आएको छ र युद्धविराम (सीजफायर) सम्झौताका लागि नयाँ चुनावलाई शर्तका रूपमा पनि राख्दै आएको छ। एजेन्सी
प्रकाशित: २५ मंसिर २०८२ ०८:०२ बिहीबार





