चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ रेन्मिन्बीलाई ‘शक्तिशाली मुद्रा’ बनाएर अन्तर्राष्ट्रिय व्यापार, लगानी र विदेशी मुद्रा बजारमा व्यापक प्रयोग गर्न तथा आरक्षित मुद्राको दर्जा दिलाउन काम गर्नुपर्नेमा जोड दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र किउशी पत्रिकामा शनिबार प्रकाशित लेखमा उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय व्यापार, लगानी र विदेशी मुद्रा बजारमा व्यापक रूपमा प्रयोग गर्न सकिन्छ, र आरक्षित मुद्राको स्थिति प्राप्त गर्न सकिन्छ।’
चीनले लामो समयदेखि रेन्मिन्बीको अन्तर्राष्ट्रियकरणलाई बढावा दिइरहेको छ। यो टिप्पणीले सीको ‘बलियो मुद्रा’ को लक्ष्यलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ। यसका लागि प्रभावकारी मौद्रिक व्यवस्थापन गर्ने शक्तिशाली केन्द्रीय बैंक, विश्वस्तरीय प्रतिस्पर्धी वित्तीय संस्था र विश्वव्यापी पुँजी आकर्षित गर्ने अन्तर्राष्ट्रिय वित्तीय केन्द्रहरू आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
सन् २०२४ मा शीर्ष अधिकारीहरूलाई दिएको भाषणका अंश हालै सार्वजनिक गरिएको हो।
पछिल्लो समय अमेरिकी डलरको मूल्यमा उतारचढाव आइरहेको छ, जसमा ट्रम्पको कर (ट्यारिफ) नीतिले प्रमुख भूमिका खेलेको छ। ट्रम्पको व्यापार नीतिले अमेरिकी डलर कमजोर बन्दै गएको छ, जसले आयात महँगो बनाउँछ। तर निर्यातलाई फाइदा पुर्याउँछ।
ट्रम्पको नीतिका कारण अमेरिकाका परम्परागत निकट सहयोगी (क्यानडा, युरोपेली देशहरू) टाढा जाँदै छन्। पछिल्लो समय पश्चिमी देशका नेताहरू बेइजिङसँग सम्बन्ध सुधार्न खोजिरहेका छन्।
हालै बेलायतका प्रधानमन्त्री केअर स्टार्मरले चीनको भ्रमण गरेका थिए, जसलाई दुई देशबिचको सम्बन्धमा 'नयाँ' सुरुवात गर्ने प्रयासका रूपमा हेरिएको छ।
त्यसअघि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि चीन भ्रमण गरी नयाँ रणनीतिक साझेदारीमा जोड दिएका थिए। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ पनि गत वर्ष अन्तिमतिर चीन गएका थिए।
अमेरिकाको ट्यारिफ नीतिका कारण भारत पनि चीनसँग सम्बन्ध सुधार्ने बाटोमा छ, जसले दुई देशबिच व्यापार तनाव बढाइरहेको छ। दक्षिण कोरिया र जापान जस्ता अमेरिकाका निकट देशहरू पनि चीनसँग आर्थिक सम्बन्ध बढाउन खोजिरहेका छन्।
‘चीनले विश्वव्यापी व्यवस्थामा परिवर्तन पहिलेभन्दा बढी वास्तविक रूपमा महसुस गरिरहेको छ,’ प्यान्थियोन म्याक्रोइकोनोमिक्सका अर्थशास्त्री केल्भिन लामले भने।
चीनको केन्द्रीय बैंकका गभर्नर पान गोंगसेङले गत वर्ष नयाँ विश्वव्यापी मुद्रा व्यवस्थाको भविष्यवाणी गरेका थिए, जसमा रेन्मिन्बीले बहु–ध्रुवीय प्रणालीमा अन्य मुद्रासँग प्रतिस्पर्धा गर्ने बताएका थिए।
‘बेइजिङ युआनलाई गम्भीर विश्वव्यापी मुद्रा बनाउन चाहन्छ। रातारात डलरलाई प्रतिस्थापन गर्न आवश्यक छैन, तर रणनीतिक सन्तुलनका रूपमा अमेरिकी प्रभावलाई सीमित गर्न चाहन्छ,’ द एसिया ग्रुपका हान शेन लिनले भने।
सन् २०२२ को रुस–युक्रेन युद्धपछि रेन्मिन्बी विश्वको दोस्रो ठुलो व्यापारिक मुद्रा बने पनि आरक्षित मुद्रामा यसको हिस्सा सीमित छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२५ को तेस्रो त्रैमासिकमा डलरको हिस्सा ५६ दशमलव ९२ प्रतिशत छ, जबकि रेन्मिन्बीको १ दशमलव ९३ प्रतिशत मात्र रहेको छ।
विश्लेषकहरूका अनुसार खुला पुँजी खाता र पूर्ण रूपान्तरणबिना रेन्मिन्बीको वैश्विक प्रयोग बढाउन गाह्रो छ। चीनका व्यापार साझेदारहरूले रेन्मिन्बीको मूल्य बढाउन आग्रह गरेका छन्, जसले निर्यात सस्तो बनाएर ठुलो व्यापार अधिशेष सिर्जना गरेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जिएभाले चीनलाई अर्थतन्त्रको असन्तुलन ठिक गर्न आह्वान गरेकी थिइन्। चीनका नीति निर्माताहरूले भने रेन्मिन्बीलाई स्थिर राख्ने र मूल्य भण्डारको रूपमा जोगाउने मुख्य उद्देश्य रहेको बताउँदै आएका छन्।
भूराजनीतिक तनाव र व्यापार अनिश्चितताको यो बेला सीको रेन्मिन्बीलाई विश्वव्यापी आरक्षित मुद्रा बनाउने आह्वान आएको हो। उनको यो बयानले दीर्घकालीन रूपमा लगानीकर्ताहरूलाई प्रभाव पार्ने देखिन्छ, जसले डलरको प्रभुत्वलाई चुनौती दिन सक्छ। एजेन्सीको सहयोगमा
प्रकाशित: १९ माघ २०८२ ०९:१८ सोमबार





