भारतीय विदेशमन्त्री एस. जयशंकरले मार्च १० मा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग फोनमा कुराकानी गरेका छन्। फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि यो दुई नेताहरूबिचको तेस्रो वार्ता हो।
यो वार्ता त्यतिबेला भएको हो जब होर्मुज जलमार्गमा तेल आपूर्ति लगभग रोकिएको छ। यसले विश्वभर धेरै देशहरूलाई चिन्तित बनाएको छ।
इरानबाहेक जयशंकरले जर्मन विदेशमन्त्री जोहान वेडेफ्यू र दक्षिण कोरियाली विदेशमन्त्री चोह येओनसँग पनि कुराकानी गरेका छन्। उनीहरूले मध्यपूर्वको द्रुत परिवर्तनशील अवस्थाबारे छलफल गरेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।
जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरानी विदेशमन्त्री अराघचीसँग चलिरहेको द्वन्द्वसँग जोडिएका पछिल्ला घटनाक्रममा विस्तृत छलफल भयो। हामी सम्पर्कमा रहन सहमत भयौं।’
इरानको नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई मार्च ८ मा घोषित गरिएपछि यो दुई विदेशमन्त्रीहरूबिचको पहिलो कुराकानी थियो।
उनका बुबा अयातोल्लाह अली खामेनी फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणमा मारिएका थिए।
यसबिच अमेरिकाले आफ्नो सेनाले होर्मुज जलमार्ग नजिक बारुदी सुरुङ बिछ्याइरहेका १६ इरानी जहाजहरूलाई ध्वस्त पारेको दाबी गरेको छ।
अमेरिकी केन्द्रीय कमान्डले जहाजहरूमाथि आक्रमण भएको भिडियो पनि जारी गरेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले होर्मुज जलमार्गमा राखिएका इरानी जहाजहरूमाथि आक्रमण गरेको बताएका थिए।
अमेरिका, इजरायल र इरानबिचको युद्धका कारण यो समुद्री मार्गबाट जहाजहरूको आवागमन प्रभावित भएको छ।
यो मार्ग विश्व तेल ढुवानीका लागि सबैभन्दा महत्वपूर्णमध्ये एक हो।
अमेरिकी गुप्तचर एजेन्सीहरूले इरानले होर्मुज जलमार्गमा पानीमुनि विस्फोटक पदार्थ बिछ्याउने तयारी गरेको आशंका गरेका थिए। एजेन्सी
प्रकाशित: २७ फाल्गुन २०८२ ०८:१० बुधबार





