१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वाशिङ्टन डीसीमा किन हजारौं लामखुट्टेहरू छाडिँदै छ ?

अमेरिकाको राजधानी वाशिङ्टन डीसी क्षेत्रमा लामखुट्टेको संख्या नियन्त्रण गर्न ६ लाख वोल्बाचिया–संक्रमित भाले लामखुट्टे छाड्ने अभियान सुरु गरिएको छ।

मेरील्याण्डको सिल्भर स्प्रिंगस्थित बी सेफ मोस्किटो कन्ट्रोल कम्पनीले गर्मी यामभर यो कार्यक्रम सञ्चालन गरिरहेको हो।

कम्पनीका मालिक टोड मोन्टगोमेरीका अनुसार सन् २०२६ मा डीसी, मेरील्याण्ड र भर्जिनिया क्षेत्रमा करिब ६ लाख भाले लामखुट्टे छाड्ने लक्ष्य राखिएको छ। आगामी वर्ष यो संख्या अझ बढाइने योजना रहेको उनले बताए।

छाडिएका लामखुट्टे वोल्बाचिया नामक प्राकृतिक ब्याक्टेरियाबाट संक्रमित हुन्छन्। यी सबै भाले भएकाले मानिसलाई टोक्दैनन्। तर जब यिनीहरूले पोथी लामखुट्टेसँग सहवास गर्छन्, त्यसपछि पोथीले राख्ने अण्डा नफुट्ने भएकाले नयाँ लामखुट्टे जन्मिन सक्दैनन्। यसरी समयसँगै लामखुट्टेको संख्या स्वाभाविक रूपमा घट्ने विश्वास गरिएको छ।

यो अभियान विशेषगरी एशियाली टाइगर लामखुट्टेलाई लक्षित गरिएको हो। यो प्रजातिले डेंगु, जिका र पहेँलो ज्वरोजस्ता रोग सार्न सक्ने भएकाले स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छ।

बी सेफले प्रयोग गरिरहेको वोल्बाचिया–संक्रमित भाले लामखुट्टे केन्टकीस्थित मस्क्यिूटो मेट कम्पनीबाट ल्याइन्छ। यो प्रविधिलाई अमेरिकामा जैविक कीटनाशकको रूपमा प्रयोग गर्न अनुमति प्राप्त भइसकेको छ।

यद्यपि अमेरिकामा यो अपेक्षाकृत नयाँ अभ्यास भए पनि दक्षिण अमेरिकासहित केही देशमा यसको सफल प्रयोग भइसकेको छ।

मोन्टगोमेरीका अनुसार दक्षिण अमेरिकाका केही क्षेत्रमा वोल्बाचिया प्रविधिको प्रयोगपछि डेंगुका घटनामा ९८ प्रतिशतभन्दा बढी कमी आएको देखिएको छ।

उनका अनुसार लामखुट्टेको संख्या नियन्त्रण गर्न भाले लामखुट्टे प्रयोग गर्ने विधि विभिन्न प्रजातिमा प्रभावकारी सावित हुँदै आएको छ।

यसअघि गुगलको मातृ कम्पनी अल्फाबेटले पनि आफ्नो डिबग कार्यक्रममार्फत क्यालिफोर्निया र फ्लोरिडामा ३ करोड २० लाख वोल्बाचिया–संक्रमित लामखुट्टे छाड्ने योजना सार्वजनिक गरेको थियो।

डीसी क्षेत्रमा भने हाल यस्तो सेवा उपलब्ध गराउने एकमात्र कम्पनी बी सेफ मोस्किटो कन्ट्रोल हो। कम्पनीले जुनको सुरुदेखि भाले लामखुट्टे छाड्न थालेको हो र अभियान सेप्टेम्बरसम्म जारी रहनेछ।

कम्पनीका अनुसार एक सिजनको सेवाको लागत करिब ४१,००० अमेरिकी डलर पर्छ र यस वर्षका लागि सेवा पूर्ण रूपमा बुक भइसकेको छ।

प्रकाशित: ११ श्रावण २०८३ १९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App