२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

..जब खिर गंगा पिर गंगा बन्यो

भारतको उत्तराखण्ड प्रान्तको उत्तर काशीमा आएको बाढीको दृश्य यति बेला सामाजिक सञ्जालमा भाइरल छ। केही सेकेन्ड मात्रैको सार्वजनिक भिडिओमा एक नदीको रौद्र रूप देखिन्छ।  पहाडै बगाएर ल्याएको देखिने दृश्यमा बाढीले एकाएक एक बजार खर्लप्पै निल्छ। बजारमा सडकमा ज्यान जोगाउन भाग दौड गरिरहेकाहरू एकाएक अलप हुन्छन्। 

उक्त दृश्य चीनसँग सिमाना जोडिएको उत्तराखण्डको उत्तर काशी जिल्लाको हो। बाढीले बगाएको सहर धराली बजार हो। धराली बजार प्रसिद्ध धार्मिक स्थल गंगोत्री जाने बाटोमा पर्छ। गंगोत्री हिन्दुहरूका चार धाममध्ये एक मानिन्छ। धराली बजार हर्षिल उपत्यका भित्र पर्दछ। धरालीबाट गंगोत्रीको दूरी २० किलोमिटर छ। 

बाढी आएको नदीको नाम खिर गङ्गा हो। जुन भागीरथी नदीमा मिसिन्छ। उच्च हिमालयबाट धराली बजार हुँदै बग्ने खिर गङ्गा नदी वर्षभरि सामान्यतया शान्त र मध्यम गतिमा बग्छ, तर वर्षा याममा अत्यन्त उग्र रूप देखाउँछ।

तर, अक्सर शान्त रहने खिर गंगाले यस पटक भने रौद्र रूप देखायो। यो बाढीले ठुलो जनधनको क्षति गरेको छ। सयौँ मानिस हराइरहेका छन्। विज्ञहरूले अकस्मात् ‘बादल फाटेका’कारण उक्त बाढी आएको बताइरहेका छन्। 

खिर गंगामा यसअघि पनि भीषण बाढी

खिर गंगामा आएको यो बाढी पहिलो भने नभएको इतिहासकारहरूको भनाई छ। इतिहासकार र भूगर्भ शास्त्रीका अनुसार यो नदीमा यसअघि पनि पटक–पटक यस्तै भयावह बाढी आउने गरेका थिए। 

भूगर्भ शास्त्री एवं प्राध्यापक एसपी सतीका अनुसार सन् १८३५ मा खिर गङ्गा नदीमा अहिलेसम्मकै भीषण बाढी आएको थियो। त्यो बेला नदीले पूरै धराली बजार ग्रेगानले ढाकिदिएको थियो। अहिलेको बगाएको बजार त्यस समय आएको ग्रेगानमाथि नै बनेको उनी बताउँछन्। 

पछिल्ला वर्षमा पनि खिर गंगाको बाढी तीव्र बहावका साथ आउने गरेका उदाहरण छन्। जसमा धेरै घर बगेका पनि छन्। तर मानवीय क्षति भने भएको थिएन। 

हिमालयको इतिहास र वातावरण सम्बन्धी विज्ञ मानिने इतिहासकार डा. शेखर पाठकका अनुसार खिर गंगा बहने क्षेत्र अत्यन्त संवेदनशील छ। त्यसैले त्यहाँ पहिरो र हिम पहिरो हुने सम्भावना सधैँ उच्च रहन्छ।

‘यो क्षेत्र हिमालयको चौखम्भा पश्चिम शृङ्खलामा पर्छ। सन् १७०० मा गढवालमा परमार वंशको शासनका बेला ठुलो पहिरो आएर झालामा १४ किलोमिटर लामो ताल बनेको थियो,’ बिबिसी हिन्दीसँगको कुराकानीमा उनले भनेका छन्, ‘त्यसको प्रमाण आज पनि देख्न सकिन्छ, किनकि त्यहाँ भागीरथी नदी स्थिर जस्तै देखिन्छ।’ 

यस्तै सन् १९७८ मा धरालीबाट ३५ किलोमिटर तल डबराणी भन्ने स्थानमा एक बाँध फुट्दा भागीरथीमा बाढी आएको पनि डा. पाठक बताउँछन्। जसले धेरै गाउँहरू बगाएको थियो। त्यसपछि पनि धराली र आसपासका क्षेत्रमा धेरै पटक बादल फाट्ने र पहिरोका घटनाहरू भएको पाठकको भनाई छ। 

खिर गङ्गा नाम कसरी रह्यो?

डा. पाठकका अनुसार शुद्ध पानी बहने नदी भएकाले त्यो नदीको नाम खिर गङ्गा रहन गएको हो। ‘यो नदी हिमनदी हो। ग्लेसियर पग्लिएर बग्ने पानी पहाड, त्यसपछि घना जंगल हुँदै बग्छ, त्यसैले यसको पानी शुद्ध हुन्छ,’ उनले भनेका छन्। 

खिर गंगाको पानीमा अन्य नदीहरूजस्तो यसमा चून मिसिएको हुँदैन, त्यसैले यसलाई ‘खिर गङ्गा’ भनिएको उनी बताउँछन्। 

उत्तराखण्डमा फाटिरहन्छ बादल

‘बादल फाट्नु’ हिमालय क्षेत्रमा हुने सर्वाधिक विनाशकारी प्राकृतिक प्रकोपमध्ये एक मानिन्छ। छोटो समयमा सानो क्षेत्रमा अत्यधिक वर्षा हुनुलाई बादल फाट्नु भनिन्छ। 

मौसम विज्ञका अनुसार २० देखि ३० वर्ग किलोमिटरको क्षेत्रमा एक घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा हुने अवस्थालाई ‘बादल फाट्नु’ भनिन्छ। एक अनुसन्धानले बादल फाट्ने अधिकांश घटना दुई हजार मिटरभन्दा बढी उचाइ भएका क्षेत्रमा हुन्छ।  

पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण यस्ता बादल फाट्ने गरेका घटना तमाम हुन थालेको विज्ञहरू बताउँछन्। जसको जोखिम हिमाल र उच्च पहाड भएका नेपालजस्ता देशहरूमा पनि हुने गर्छ। 

‘पहिले उत्तराखण्डका उच्च स्थानमा हिउँ पर्थ्यो, हिमनदी बन्थ्यो, तर वर्षा निकै कम हुन्थ्यो,’ डा. पाठक भन्छन्, ‘अहिले हिउँ कम पर्छ । वर्षा अत्यधिक हुने थालेको छ। यसको मुख्य कारण जलवायु परिवर्तन हो।’  

बिबिसी हिन्दीको सहयोगमा 

प्रकाशित: २२ श्रावण २०८२ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App