अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीको सरकारले देशमा कम्तीमा तीन लाख ५० हजार डलर लगानी गर्ने विदेशीलाई नागरिकता दिने घोषणा गरेको छ।
आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) का अनुसार ल्याटिन अमेरिकाको तेस्रो ठुलो अर्थतन्त्र अर्जेन्टिना गत वर्ष प्रत्यक्ष विदेशी लगानी भित्र्याउने मामिलामा ब्राजिल र मेक्सिकोभन्दा धेरै पछाडि परेको थियो।
खुला बजारका पक्षधर माइलीले अर्जेन्टिनालाई थप प्रतिस्पर्धी बनाउन सार्वजनिक खर्च घटाएका छन्। डलर सञ्चिति बढाउन र अर्थतन्त्र सुधार्न उनले विभिन्न नियम खुकुलो बनाएका छन् भने व्यापारमा रहेका अवरोध पनि कम गरेका छन्। तर लगानीकर्ताहरू भने माइली सरकारले थालेका सुधार लामो समयसम्म टिक्छन् कि टिक्दैनन् भन्ने हेरेर बसेका छन्।
अर्थशास्त्री मार्सेलो एलिजोन्डोले एएफपीसँग भने, ‘सरकारले गरिरहेको काम लामो समयसम्म टिकाउ हुन्छ भनेर प्रमाणित गर्न अझै बाँकी छ।’
पेरिसमा आयोजना हुने अर्जेन्टिना सप्ताहसँगै सरकारले शुक्रबार लगानीमार्फत नागरिकता दिने कार्यक्रम घोषणा गरेको हो। यसअन्तर्गत अर्जेन्टिनाको नागरिकता र राहदानी लिन दुई ‘सरल र पारदर्शी संयन्त्र’ प्रस्ताव गरिएको छ।
लगानीकर्ताले या त अर्जेन्टिनाको सरकारी कोषमा तीन लाख ५० हजार डलर फिर्ता नहुने गरी लगानी गर्नुपर्नेछ वा आठ लाख डलरको विशेष सरकारी बन्ड खरिद गर्नुपर्नेछ। लगानीकर्ताका पति वा पत्नी र छोराछोरीले पनि सरकारी कोषमा एक लाख डलर योगदान गरेर नागरिकता लिन सक्नेछन्। १८ वर्षभन्दा कम उमेरका छोराछोरीका लागि भने २५ हजार डलर योगदान गर्नुपर्नेछ।
‘प्राप्त रकम अर्जेन्टिनाको आर्थिक र वित्तीय अवस्था थप बलियो बनाउन प्रयोग गरिनेछ,’ सरकारले भनेको छ। एक्समा लेख्दै अर्थ मन्त्रालयले लगानीको स्रोतबारे कडा जाँच गरिने बताएको छ। यस्तो जाँचबाट पैसाको स्रोत पत्ता लगाउने, सम्पत्ति शुद्धीकरण (मनी लान्ड्रिङ) रोक्ने र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने मन्त्रालयले जनाएको छ।
तर केही विश्लेषकहरूले यो योजनाबाट कस्ता मानिस अर्जेन्टिना आउनेछन् भन्नेमा प्रश्न उठाएका छन्। माइलीका आलोचक अर्थशास्त्री पाब्लो टिगानीले भने, ‘यसले लागूऔषध तस्कर र शंकास्पद स्रोतबाट पैसा ल्याउने मानिसलाई अर्जेन्टिना ल्याउन सक्छ, जसलाई अन्य देशमा अनुमति छैन।’
माइली यसै साता ओईसीडीमा आयोजना गरिएको अर्जेन्टिना सप्ताहमा लगानीकर्तासँग भेट्न पेरिस गएका थिए। उनले त्यहाँ विभिन्न लगानीको प्रतिबद्धता पाएका छन्। फ्रान्सको टोटल इनर्जीजले पाटागोनियामा तेल र ग्यास अन्वेषणमा १० अर्ब डलर लगानी गर्ने वाचा गरेको छ। त्यस्तै, स्विस खानी कम्पनी ग्लेनकोरले तामा परियोजनामा चार अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
माइलीको ‘गोल्डेन पासपोर्ट’ योजना यस वर्षको अन्त्यतिर कार्यान्वयन हुने बताइएको छ। यो योजना सर्वोच्च अदालतले विदेशीले ग्रामीण जग्गा खरिद गर्ने सीमासम्बन्धी व्यवस्था खारेज गरेको केही दिनपछि आएको हो। अदालतले मंगलबार माइलीले सन् २०११ देखि लागू रहेको ग्रामीण जग्गामा विदेशी स्वामित्वको १५ प्रतिशत सीमा हटाउने गरी सन् २०२३ मा जारी गरेको आदेशलाई समर्थन गरेको छ।
सन् १९८२ मा अर्जेन्टिनाको फकल्याण्ड टापुमा बेलायतसँग भएको युद्धका अनुभवीहरूले उक्त आदेशको कडा विरोध गरेका थिए। अर्जेन्टिनाले फकल्याण्ड टापुलाई लास माल्भिनास भनेर चिन्ने गर्छ। आलोचकहरूले माइलीमाथि ‘अर्जेन्टिना गणतन्त्र बिक्रीका लागि राखेको’ आरोप लगाएका छन्। कानुनमा गरिएको परिवर्तनको विरोधमा अर्को हप्ता प्रदर्शन आह्वान गरिएको छ।
विपक्षीले संसदमा पनि उक्त परिवर्तन रोक्ने प्रयास गर्ने जनाएका छन्। ओईसीडीका अनुसार अर्जेन्टिनाले गत वर्ष तीन अर्ब १३ करोड ४० लाख डलरको प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको थियो। यो ब्राजिलले भित्र्याएको ७६ अर्ब ८७ करोड ७० लाख डलर र मेक्सिकोले प्राप्त गरेको ४० अर्ब ८७ करोड १० लाख डलरको तुलनामा निकै कम हो। एजेन्सीको सहयोगमा
प्रकाशित: १८ आश्विन २०८३ १३:२५ आइतबार





