उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरिया, अमेरिका र जापानका अधिकारीहरूले टेलिफोनमा छलफल गरेका छन्।
सियोलको विदेश मन्त्रालयका अनुसार यो कदम उत्तर कोरियाको पछिल्लो गतिविधिबारे जानकारी आदानप्रदान गर्न चालिएको हो।
बिहीबार प्योङयाङले पूर्वी समुद्रतर्फ छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेको बेला उत्तर कोरियाले यो परीक्षण गरेको हो। उत्तर कोरियाले उक्त सैन्य अभ्यासलाई युद्धको पूर्वाभ्यास भन्दै विरोध गर्दै आएको छ।
छलफलमा कोरियाली प्रायद्वीप नीतिका महानिर्देशक बाएक योङ-जिन, अमेरिकी विदेश विभागका उपसहायक सचिव डेभिड विलेजोल र जापानी विदेश मन्त्रालयका उपमहानिर्देशक ताकाशी अरियोशी सहभागी थिए।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘तीन अधिकारीहरूले सान्दर्भिक जानकारी साझा गरे र भविष्यका प्रतिक्रियाहरूबारे छलफल गरे’ भनिएको छ। मन्त्रालयका अनुसार यी तीन देशका अधिकारीहरूले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि तुरुन्तै जानकारी साझा गर्न छुट्टै संयन्त्र प्रयोग गर्दै आएका छन्।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वार्ता गर्ने इच्छा व्यक्त गर्दै संयुक्त अभ्यास फिर्ता लिन आदेश दिए पनि प्योङयाङले परीक्षण जारी राखेको हो। एजेन्सी
प्रकाशित: ५ भाद्र २०८३ १०:१० शुक्रबार



-600x400.jpg)

