५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
शिक्षा

काठमाडौंका चार विद्यालयको नाम र दुई विद्यालयको स्थान परिवर्तन

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयको नाम तथा स्थान परिवर्तनसम्बन्धी प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाको शिक्षा विभागले चार विद्यालयको नाम र दुई विद्यालयको स्थान परिवर्तनका लागि अनुमति माग गरिएको भन्दै दाबी–विरोध भए प्रमाणसहित निवेदन दिन सार्वजनिक सूचना जारी गरेको हो।

महानगरपालिकाका अनुसार विद्यालय सञ्चालकहरूले कम्पनी रजिष्ट्रारको कार्यालयबाट नाम तथा स्थान परिवर्तनसम्बन्धी पत्रसमेत लिएर शिक्षा विभागमा निवेदन दर्ता गराएका छन्। ती निवेदनमाथि कुनै व्यक्ति वा संघसंस्थाको दाबी–विरोध भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित लिखित निवेदन पेश गर्न विभागले आग्रह गरेको छ।

नाम परिवर्तनका लागि अनुमति माग गरिएका विद्यालयमा काठमाडौं महानगरपालिका–६ बौद्धस्थित बुद्ध पशुपति इङ्गलिस बोर्डिङ स्कुलको नाम निकुञ्ज एकेडेमी, काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरस्थित साई शिक्षा निकेतन काठमाडौंको नाम कुसुम विद्या सेकेण्डरी स्कुल, सोही वडाको मानसी एकेडेमीको नाम मानसी बाल बाटिका तथा काठमाडौं महानगरपालिका–६ बौद्धस्थित मञ्जुश्री सामुदायिक विद्यालयको नाम थरलम मञ्जुश्री एकेडेमी राख्न अनुमति माग गरिएको छ।

त्यस्तै, स्थान परिवर्तनका लागि बुद्ध पशुपति इङ्गलिस बोर्डिङ स्कुललाई काठमाडौं महानगरपालिका–६ बौद्धबाट कीर्तिपुर नगरपालिका–३ काठमाडौंमा र साई शिक्षा निकेतन काठमाडौंलाई काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरबाट महानगरपालिका–२९ मा स्थानान्तरण गर्न अनुमति माग गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले तोकिएको अवधिभित्र दाबी–विरोध नआए निवेदकको मागबमोजिम प्रक्रिया अघि बढाइने जनाएको छ। यद्यपि, जारी सूचनाले मात्र विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन भएको नमानिने स्पष्ट गरिएको छ।

प्रकाशित: ५ भाद्र २०८३ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App