१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले कोलम्बियाका राष्ट्रपतिको भिसा रद्द गर्‍यो

कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले शुक्रबार न्यूयोर्कको सडकमा प्यालेस्टिनी समर्थक प्रदर्शनमा उत्रिएर अमेरिकी सैनिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश अवज्ञा गर्न आग्रह गरेपछि संयुक्त राज्य अमेरिकाले उनको भिसा रद्द गर्ने बताएको छ।  

‘हामी पेट्रोको लापरबाह र आगजनीपूर्ण कार्यका कारण उनको भिसा रद्द गर्नेछौं,’ विदेश विभागले सामाजिक सञ्जालमा लेख्यो। म्यानहट्टनमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर प्यालेस्टिनी समर्थक प्रदर्शनकारीलाई सम्बोधन गर्दै पेट्रोले प्यालेस्टिनीलाई मुक्त गर्न प्राथमिकता दिने विश्वव्यापी सशस्त्र बललाई आह्वान गरेर भने, ‘यो बल संयुक्त राज्य अमेरिकाभन्दा ठूलो हुनुपर्छ।’  

‘त्यसैले यहाँबाट, न्यूयोर्कबाट, म संयुक्त राज्य अमेरिकाको सेनाका सबै सिपाहीलाई मानिसमाथि बन्दुक नताक्न आग्रह गर्छु। ट्रम्पको आदेशको अवज्ञा गर्नुहोस्। मानवताको आदेशको पालना गर्नुहोस्,’ पेट्रोले स्पेनी भाषामा भनेका थिए।   

पेट्रो अझै न्यूयोर्कमा छन् कि छैनन् भन्ने पुष्टि भएको छैन्। उनको कार्यालय र कोलम्बियाको विदेश मन्त्रालयले टिप्पणी गर्न मानेको छैन्। 

गाजा युद्ध : संयुक्त राष्ट्रसंघमा विवाद
फ्रान्स, बेलायत, अष्ट्रेलिया र क्यानडाले प्यालेस्टिनी राज्यलाई मान्यता दिए पनि ट्रम्प प्रशासनले प्यालेस्टिनी समर्थक आवाजलाई दबाउँदै आएको छ, जसले इजरायल र उसको सहयोगी अमेरिकालाई रिसाएको छ।  

कोलम्बियाका पहिलो वामपन्थी राष्ट्रपति समेत रहेका पेट्रोले गाजामा इजरायलको युद्धका मुखर विरोधी पहिचान बनाएका छन्। मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो भाषणमा ट्रम्पमाथि प्रहार गर्दै भनेका थिए, ‘अमेरिकी नेता गाजामा “नरसंहारमा संलग्न” छन् र क्यारिबियन पानीमा लागुऔषध ओसारपसार गर्ने संदिग्ध डुंगामा अमेरिकी क्षेप्यास्त्र आक्रमणका लागि “आपराधिक कारबाही” गर्नुपर्छ।’  

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शुक्रबार सभालाई सम्बोधन गर्दै प्यालेस्टिनी राज्यलाई अँगालेकोमा पश्चिमी देशको निन्दा गरेका थिए। उनले भने, ‘उनीहरूले यहूदीहरूको हत्याले प्रतिफल दिन्छ भन्ने सन्देश दिए।’  

अक्टोबर ७, २०२३ मा प्यालेस्टिनी लडाकू समूह हमासको नेतृत्वमा भएको आक्रमणमा करिब १२ सय जनाको मृत्यु भएपछि इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो। हमासले २५१ जनालाई बन्धक बनाएको थियो। त्यसबेलादेखि गाजा स्वास्थ्य अधिकारीका अनुसार इजरायलको सैन्य जवाफमा ६५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ। सम्पूर्ण जनसङ्ख्यालाई विस्थापित गरेको छ।  

धेरैले यो नरसंहार बराबर भएको बताएका छन्, जुन आरोपलाई इजरायलले अस्वीकार गर्छ। इजरायलले यो युद्ध आत्मरक्षाका लागि भएको दाबी गर्दै आएको छ। 

ट्रम्प प्रशासनले न्यूयोर्क यात्राका लागि भिसा नदिएपछि प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमूद अब्बासले बिहीबार संयुक्त राष्ट्रसंघलाई भिडियोमार्फत सम्बोधन गर्नुपरेको थियो। 

अब्बासको कार्यालयले उनको भिसा प्रतिबन्धले सन् १९४७ को संयुक्त राष्ट्र मुख्यालय सम्झौताको उल्लङ्घन गरेको बताए। सम्झौताअनुसार अमेरिकाले सामान्यतया विदेशी कूटनीतिज्ञलाई संयुक्त राष्ट्रसंघमा पहुँच दिनुपर्छ। तर वाशिङ्टनले सुरक्षा, अतिवाद र विदेश नीतिका कारण भिसा अस्वीकार गर्न सक्छ।  

ट्रम्पसँग कोलम्बियाको तनावपूर्ण सुरुवात
संयुक्त राज्य अमेरिका कोलम्बियाको मुख्य व्यापारिक साझेदार र लागुऔषध तस्करीविरुद्धको लडाइमा ठूलो सहयोगी हो। तर जनवरीमा ट्रम्प सत्तामा फर्केपछि अमेरिका–कोलम्बिया सम्बन्ध खराब बिनदुमा पुगेको छ। ट्रम्पको आप्रवासन क्र्याकडाउनमा पेट्रोले निर्वासितलाई बोकेका सैन्य उडान स्वीकार गर्न अस्वीकार गरेपछि विवाद बढेको थियो।  

पेट्रोले भने, ‘हाम्रो देशका नागरिकलाई अपराधीजस्तै व्यवहार गरिएको थियो।’ तर दुवै देशले एकअर्कामाथि कर लगाउने धम्की दिएपछि र अमेरिकाले कोलम्बियालीका लागि भिसा अपोइन्टमेन्ट रद्द गरेपछि पेट्रोले बाटो परिवर्तन गरेर आप्रवासीलाई स्वीकार गरेका थिए। 

यस महिना ट्रम्पले कोलम्बियालाई ती देशको सूचीमा राखे जसले वाशिङ्टनको लागुऔषधविरोधी सम्झौता पालना गर्न असफल भएको छ। साथै, उनले यसका लागि कोलम्बियाको राजनीतिक नेतृत्वमाथि दोष लगाएका छन्। पेट्रो सन् २०२२ मा सशस्त्र समूहसँग सम्झौता गर्ने वाचासहित सत्तामा आएका थिए। रोयटर्स

प्रकाशित: ११ आश्विन २०८२ १३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App