२५ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका-इरान युद्धविराम: दुवैले गरे विजय भएको दाबी, इजरायलले के भन्यो?

फाइल तस्बिर

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले युद्धविरामलाई अमेरिकाको विजयको रूपमा अर्थ्याएकी छिन्। उनले ट्रम्प र अमेरिकी सेनाले यसलाई 'सम्पन्न बनाएको' बताइन्।

उनका अनुसार ट्रम्पले युद्ध चारदेखि ६ हप्ता चल्ने अनुमान गरेका थिए। तर ३८ दिनमा अमेरिकाले आफ्ना मुख्य सैन्य उद्देश्यहरू प्राप्त गरेको छ। तर इरान र इजरायलले एक अर्कामाथि हमला जारी राखेको जनाइएको छ। इजरायलले लेबनानमाथि पनि हमला बढाएको छ। 

लेभिटले लेखेकी छिन्, 'हाम्रो सेनाको सफलताले अधिकतम लाभ सिर्जना गर्‍यो, जसले गर्दा राष्ट्रपति ट्रम्प र टोलीलाई कठिन वार्तामा संलग्न हुन अनुमति मिल्यो जसले अब कूटनीतिक समाधान र दीर्घकालीन शान्तिको लागि ढोका खोलेको छ।' उनले ट्रम्पले होर्मुजको जलमार्ग फेरि खोल्न लगाएको समेत दाबी गरिन्।

इरानको राष्ट्रिय सुरक्षा परिषद्ले युद्धका लक्ष्यहरू प्राप्त भइसकेको भन्दै दुई हप्ताको युद्धविराममा सहमति जनाएपछि लेभिटको यो बयान आएको हो। इरानले पनि आफ्ना १० बुँदेमा अमेरिका सहमत भएको भन्दै जितको दाबी गरेको छ। तेहरानका सडकमा उत्सव मनाउन ठुलो संख्यामा भीड जम्मा भएको छ। उनीहरूले अमेरिका र इजरायलविरोधी नाराबाजी समेत गरेका छन्।

अमेरिकाको दाबी 
ट्रम्प प्रशासनले युद्धविरामलाई आफ्नो 'विजय' ठानेको छ। ह्वाइट हाउसले मुख्य उद्देश्य (होर्मुज जलमार्ग पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्ने)प्राप्त भएको दाबी गरेको छ। अमेरिकाले इरानलाई आणविक कार्यक्रम सीमित गर्न, युरेनियम संवर्धन रोक्न र ब्यालिस्टिक क्षेप्यास्त्रको खतरा घटाउन दबाब दिने योजना समेत बनाएको छ।

इरानको दाबी 
इरानले पनि यो युद्धविराम आफ्नै सर्तमा भएको दाबी गरेको छ। तेहरानका अनुसार अमेरिकाले इरानको १० बुँदे प्रस्तावको 'मुख्य ढाँचा' स्वीकार गरेको छ। यो केवल अस्थायी हो, स्थायी शान्तिको सुरुवात हो। इरानी नेताहरूले युद्ध इरानकै सर्तमा समाप्त हुन लागेको बताएका छन्।

इजरायलले के भन्यो? 
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले इरान विरुद्धको आक्रमण दुई हप्ताका लागि स्थगित गर्न सहमति जनाएको छ। तर यसका लागि इरानले जलमार्ग खोल्नुपर्ने र सबै आक्रमण बन्द गर्नुपर्ने सर्त राखिएको छ। इजरायलले स्पष्ट पारेको छ, 'दुई हप्ताको युद्धविराममा लेबनान समावेश छैन।' मध्यस्थकर्ताका रूपमा रहेको पाकिस्तानले लेबनान युद्धविराममा समावेश गरिएको भनेको थियो। 

नेतान्याहू सुरुदेखि नै युद्धविरामको पक्षमा नरहेको मानिन्छ। उनले इरानले अब आणविक र आतंकवादी खतरा नबनाउने सुनिश्चित गर्न अमेरिकी प्रयासलाई समर्थन गर्ने बताएका छन्। इजरायलले युद्धविरामलाई पूर्ण समर्थन गरेको छैन। आवश्यक परे आक्रमण जारी राख्ने संकेत गरेको छ।

उत्सव र आशंका 
इरान र अमेरिकाबिच युद्धविरामको घोषणा भएपछि इराकको राजधानी बगदादमा पनि उत्सव मनाइएको छ। इराक यो युद्धमा प्रत्यक्ष मारमा परेको थियो। मंगलबार युद्धविराम हुनुअघि मात्रै भएका आक्रमणमा दुई बालबालिकासहित ७ जनाको मृत्यु भएको थियो।  

तेहरानका सडकहरूमा पनि जीवन तलमा फर्कन थालेको छ। यद्यपि, केही इरानीहरूले भने अमेरिका र इजरायलको नियतमा शंका गरेका छन्। तेहरानको एन्जलाब स्क्वायरमा एक महिलाले भनिन्, 'अमेरिकाले अहिलेसम्म सयौँ पटक आफूलाई देखाएको छ। हामी दुई पटक वार्ताको टेबलमा थियौँ जब यसले आक्रमण गर्‍यो। यो (युद्धविराम) पनि निश्चित रूपमा यो आफैँलाई पुनर्स्थापित गर्नको लागि हो।'

विश्व समुदायद्वारा स्वागत 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि युद्धविरामको स्वागत गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आह्वान गरेका छन्। उनका प्रवक्ता स्टेफेन डुजारिकका अनुसार गुटेरेसले नागरिक जीवनको रक्षा र मानवीय पीडा कम गर्न शत्रुताको अन्त्य आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघका विशेष दूत जीन अर्नाल्ट शान्ति प्रयासलाई समर्थन गर्न अहिले सोही क्षेत्रमा छन्।  

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र विदेशमन्त्री पेनी वोङले संयुक्त विज्ञप्ति जारी गर्दै युद्धविरामको स्वागत गरेका छन्। उनीहरूले युद्धका कारण विश्वव्यापी ऊर्जा आपूर्ति र अर्थतन्त्रमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै मध्यस्थता गर्ने देशहरूलाई धन्यवाद दिएका छन्।  

स्थायी शान्तिका लागि नयाँ वार्ता इस्लामाबादमा शुक्रबार (१० अप्रिल) देखि सुरु हुने जनाइएको छ। एजेन्सी

प्रकाशित: २५ चैत्र २०८२ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App