तरकारी उत्पादनका लागि ख्याती कमाएको पोखराको हेम्जामा शुक्रबारदेखि आलु महोत्सव हुँदैछ। यो महोत्सव १४ औं संस्करण हो। महोत्सव वैशाख ५ सम्म संचालन हुनेछ।
स्थानीय विष्णुपादुका क्लवले महोत्सव आयोजना गरेको हो। आयोजक समिति संयोजक एवं क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले आलु महोत्सवको तयारी भएको बताए। उनका अनुसार यो महोत्सव अरु भन्दा केही भिन्न छ। जहाँ कृषि उत्पादनले प्रमुखता पाउनेछ।
महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा, परीक्षण तथा रोग निदान, कृषक र कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम गरिने पनि उनले बताएका छन्।
त्यस्तै, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुतिलगायत विभिन्न कृषि उपज बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि हुनेछन्। पोखरा महानगरपालिका प्रवक्तासमेत रहेका पोखरा महानगरपालिका–२५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले आलु महोत्सवले पोखरालाई विश्व वजारमा चिनाएको बताए। ‘किसानलाई खेतीपातिप्रति जागरुक बनाउन पनि यो महोत्सवले सघाएको छ,’ उनले भने।
कृषि प्राविधिक चन्द्राकान्त तिमिल्सिनाले हेमजाको आलु स्वस्थकर र स्वादिलो हुने भएकोले सर्वत्र माग हुने गरेको बताए। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ हुन लागेको सो महोत्सवमा किलोका ३५ रुपैयाँका दरले सर्वसाधारणले आल किन्न पनि पाउनेछन्।
महोत्सवमार्फत हेमजालाई कृषि क्षेत्रका रुपमा परिचित गराउने, हेमजाको कृषि उत्पादन तथा विकासमा टेवा पु¥याउने, कृषकलाई कृषि व्यवसायमा आकर्षित गराउँदै हेमजालाई कृषि राजधानीको रुपमा स्थापित गराउने लक्ष्य राखिएको पनि आयोजकले बताएको छ।
स्थानीयका अनुसार हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ९० हेक्टर क्षेत्रफल जग्गामा आलु खेती गरिँदै आएको छ। यस खेतीमा त्यहाँका करिब २ हजार घरपरिवार संलग्न भएपनि १ हजार ५० कृषकले व्यावसायिक रुपमा आलु खेती गर्दै आएका छन्। जसको प्रतिरोपनी औसत उत्पादन लागत १८ हजार ५ सय ९७ पर्ने र औसत उत्पादन ७ सय ९ किलो रहेको उनीहरुको भनाई छ।
कृषि प्राविधिक समेत रहेका स्थानीय चन्द्रकान्त तिमिल्सिना हेमजाको ‘एमएस ४२’ जातको आलु देशभर परिचित छ। छिटो पाक्ने र स्वादिलते तथा थोरै क्षेत्रफलमा पनि धेरै फल्ने भएकाले हेमजाका अधिकांश किसानले यही आलु लगाउने गरेका छन्। आलु खेतीका लागि प्रख्यात यो गाउँमा अहिले बसाई सरेर आएका बासिन्दा बढिरहेकोले खेतीयोग्य जमिनको आकार हरेक वर्ष घट्दै गईरहेको उनले बताए।
प्रकाशित: २५ चैत्र २०८२ १३:२० बुधबार





