अमेरिकी वाणिज्य विभागले व्यक्तिगत सुरक्षा उपकरण, चिकित्सा सामग्री, रोबोटिक्स, र औद्योगिक मेसिनरीको आयातमा नयाँ राष्ट्रिय सुरक्षा अनुसन्धान सुरु गरेको घोषणा गरेको छ। यी जाँचहरूलाई धारा २३२ अनुसन्धान भनिन्छ र यसले आयातित सामानहरूमा उच्च ट्यारिफ लगाउने आधार तयार गर्न सक्छ।
यो अनुसन्धान सेप्टेम्बर २ मा सुरु भए पनि हालै मात्र सार्वजनिक गरिएको हो। यसको मुख्य उद्देश्य आयातित फेस मास्क, सिरिन्ज, इन्फ्युजन पम्प र रोबोटिक्स तथा औद्योगिक मेसिनरी जस्ता वस्तुहरूको आयातको प्रभावबारे अध्ययन गर्नु हो।
यस जाँचको क्रममा वाणिज्य विभागले कम्पनीहरूलाई रोबोटिक्स र औद्योगिक मेसिनरीको लागि भविष्यको मागबारे जानकारी दिन आग्रह गरेको छ। यसले घरेलु उत्पादनले कति माग पूरा गर्न सक्छ र विदेशी आपूर्ति शृङ्खलाको भूमिका कस्तो छ भन्ने कुराको पनि मूल्याङ्कन गर्नेछ।
जाँचमा समावेश गरिएका अन्य महत्त्वपूर्ण चिकित्सा र शल्य चिकित्सा उपकरणहरूमा सर्जिकल मास्क, पन्जा, गाउन, ह्वीलचेयर, अस्पतालका बेड, पेसमेकर, इन्सुलिन पम्प, मुटुको भल्भ, एमआरआई मेसिन लगाएत अन्य सामाग्रीहरु रहेका छन्।
रोबोटिक्स सम्बन्धी जाँचले कटिङ, वेल्डिङ, र काम गर्ने टुक्राहरू ह्यान्डल गर्ने मेसिन उपकरणहरू, अटोक्लेभहरू र औद्योगिक ओभनहरूलाई पनि समेट्नेछ।
अमेरिकी वाणिज्य विभागले यसअघि नै पवन टर्बाइन, विमान, सेमिकन्डक्टर, भारी ट्रक, तामा र महत्वपूर्ण खनिजहरू जस्ता थुप्रै अन्य आयातित वस्तुहरूमा पनि यस्तै प्रकारका राष्ट्रिय सुरक्षा जाँचहरू गरेको थियो।
प्रकाशित: ९ आश्विन २०८२ ०७:२६ बिहीबार





