मध्यपूर्वमा एकपटक फेरि ठूलो द्वन्द्वको खतरा बढेको छ। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सेनालाई लक्षित गर्दै अचानक धेरै ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ।
दुई देशबिचको तनाव कम गर्न र वार्ताको टेबलमा फर्काउन भइरहेको प्रयासका बेला यो हमला भएको हो। अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमले बुधबार बिहान भएको यो आक्रमणमा प्रहार गरिएका सबै क्षेप्यास्त्रहरूलाई ‘सफलतापूर्वक रोकिएको’ उल्लेख गरेको छ। साथै, अमेरिकी सेनाहरू उच्च सतर्कतामा रहेको पनि बताइएको छ। तेहरानले भने यस आक्रमणमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको दाबी गर्दै साउदी अरेबियामा भएका प्रहारहरूसँग इरानको नाम जोडिनु गलत सूचना भएको प्रस्ट पारेको छ।
यसैबिच, साउदी अरेबियाको रक्षा मन्त्रालयले पनि आफ्नो पूर्वी प्रान्तमा रहेको महत्वपूर्ण पेट्रोलियम तथा तेल सुविधालाई लक्षित गरी इराकबाट इरान-समर्थित समूहहरूले प्रहार गरेका धेरै ड्रोनहरूलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको बताएको छ। यसको कडा जवाफ दिँदै अमेरिकी र साउदी लडाकु विमानहरूले पूर्वी इराकमा रहेका इरान समर्थित मिलिशिया समूहहरूका रसद तथा हतियार केन्द्रहरूमाथि सटीक हवाई आक्रमण गरेका छन्। सेन्टकमका अनुसार पछिल्लो ७२ घण्टामा इरानको रिभोलुसनरी गार्ड कोर्प्सको निर्देशनमा ३० बढी ड्रोन आक्रमणहरू भएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबिच वाशिङटनमा भएको पछिल्लो भेटवार्ता निकै महत्वपूर्ण मानिएको छ। केही दिनअघि मात्रै ट्रम्पले इरानसँगको वार्तालाई ‘मैत्रीपूर्ण’ बताएका थिए भने इरानी पक्ष गम्भीर नभएमा अमेरिकाले कडा सैन्य कारबाही गर्न सक्ने चेतावनी पनि दिएका थिए।
अर्कोतर्फ, इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले रणनीतिक रूपमा महत्वपूर्ण मानिएको होर्मुज जलमार्गको नियन्त्रण कायम राख्न आवश्यक परे युद्ध पुनः सुरु गर्नसमेत पछि नपर्ने चेतावनी दिएका छन्। यस क्षेत्रमा बढेको सैन्य गतिविधि र लगातारका आक्रमणले मध्यपूर्वमा शान्ति स्थापनाको प्रयास थप जटिल बन्दै गएको छ। एजेन्सी
प्रकाशित: १३ श्रावण २०८३ ०६:४५ बुधबार





-600x400.jpg)