रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा व्यापार कम्पनी वाइल्डबेरीजका गोदामहरूमा युक्रेनले ड्रोन आक्रमण गरेको रूसी सञ्चारमाध्यम र स्थानीय गभर्नरले जनाएका छन्।
आक्रमणमा कम्तीमा १० जना घाइते भएका छन्। रिपोर्टअनुसार क्रास्नोडार र स्ताभ्रोपोल क्षेत्रमा रहेका कम्पनीका लजिस्टिक्स हबहरू रातभर गरिएको ड्रोन आक्रमणको निशानामा परेका हुन्।
घटनापछि गोदाममा कार्यरत कर्मचारीहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको कम्पनीकी मालिक तात्याना किम ले जानकारी दिएकी छन्।
यो पछिल्लो चार दिनभित्र वाइल्डबेरीजका गोदाममाथि भएको दोस्रो आक्रमण हो। यसअघि शनिबार ताम्बोभ र इलेक्ट्रोस्टालस्थित गोदामहरूमा भएको आक्रमणमा ८ जनाको मृत्यु हुनुका साथै ६२ जना घाइते भएका थिए।
युक्रेनले भने ती गोदामहरू रूसले ड्रोन निर्माणका सामग्री, नेभिगेसन उपकरण तथा अन्य दोहोरो प्रयोग हुने सामग्री आपूर्तिका लागि प्रयोग गरिरहेको दाबी गरेको छ।
कम्पनीकी मालिक तात्याना किमले टेलिग्राममार्फत आक्रमणको निन्दा गर्दै सामान्य कर्मचारीमाथि भएको यस्तो घटनाले गहिरो पीडा दिएको बताइन्।
उनले चुनौतीका बाबजुद पनि कम्पनीले आफ्नो सेवा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उता, युक्रेनी सुरक्षा तथा सहकार्य केन्द्रका अध्यक्ष सेर्ही कुजान ले वाइल्डबेरीजका गोदामहरूमा आक्रमण गर्नुको मुख्य उद्देश्य रूसको लजिस्टिक्स प्रणाली अवरुद्ध गर्नु, सैन्य प्रयोजनमा प्रयोग हुन सक्ने सामग्रीको आपूर्ति रोक्नु तथा रूसी अर्थतन्त्र र जनमानसमा मनोवैज्ञानिक प्रभाव पार्नु रहेको बताएका छन्।
यस घटनाबारे दुवै पक्षले आआफ्ना दाबी प्रस्तुत गरेका छन् भने ती दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको छ।
प्रकाशित: ६ श्रावण २०८३ १३:२१ बुधबार



-600x400.jpg)

