अमेरिकाले भेनेजुएलासँग तेल क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता घोषणा गरेपछि अमेरिकी जेलमा रहेका पूर्वराष्ट्रपति निकोलस मादुरोका दुई तस्बिर सार्वजनिक भएका छन्। तस्बिर सार्वजनिक गर्दै मादुरोले आफूहरू दृढ रहेको बताएका छन्।
अमेरिकी सेनाले गत जनवरीमा भेनेजुएलाको राजधानी काराकसबाट पक्राउ गरेपछि मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेस न्युयोर्कको ब्रुकलिनस्थित जेलमा छन्। उनीहरूमाथि लागुऔषध तस्करी र हतियारसम्बन्धी आरोप लगाइएको छ। दुवैले भने आरोप अस्वीकार गरेका छन्।
मादुरोले आइतबार सामाजिक सञ्जालमार्फत दुई वटा तस्बिर सार्वजनिक गरेका हुन्। तस्बिरमा उनी खरानी रङको ट्र्याक सुटमा देखिन्छन् र दुवै हातले शान्तिको संकेत गरिरहेका छन्। पक्राउ परेयता उनको तौल घटेको देखिन्छ। क्यामेराको विवरणअनुसार ती तस्बिर जुन २५ मा खिचिएका थिए।
‘तपाईंहरूलाई थाहा दिन चाहन्छु कि हामी दृढ छौं। तपाईंहरूको मायाले हाम्रो मन भरिएको छ,’ मादुरोले लेखेका छन्। उनले आफूहरू बलियो, शान्त र विश्वस्त रहेको बताउँदै भनेका छन्, ‘भगवान् हामीसँग हुनुहुन्छ। भगवानले बाटो निकाल्नुहुनेछ। भेनेजुएला फेरि उठ्नेछ।’
मादुरोको यो सन्देश अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग भेनेजुएलाको तेल क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता घोषणा गरेको दुई दिनपछि आएको हो।
यो पनि पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताले अमेरिकालाई भेनेजुएलाको ६० अर्ब ब्यारेलभन्दा बढी प्रमाणित तेल भण्डारको ठुलो हिस्सामाथि नियन्त्रण दिने बताएका छन्। अमेरिकी अधिकारीका अनुसार प्रस्तावित संयुक्त उद्यममा अमेरिकी सरकारको ५५ प्रतिशत नियन्त्रण रहनेछ। रोड्रिगेजले अमेरिकासँग आफूले ‘कूटनीतिको बाटो रोजेको’ बताएकी छन्।
सीबीएस न्युजका अनुसार मादुरोलाई जेलमा पत्रपत्रिका पढ्न र इन्टरनेट चलाउन अनुमति छैन। तर परिवार र वकिलसँग फोनमा कुराकानी गर्न भने अनुमति दिइएको छ। उनका छोरा निकोलस मादुरो गुएराका अनुसार उनी जेलमा बाइबल अध्ययन गरेर समय बिताइरहेका छन्।
मादुरो र फ्लोरेसविरुद्धको मुद्दाको सुनुवाइ १ जुन २०२७ बाट सुरु हुने तय भएको छ। दुवैले आफू दोषी नभएको बताएका छन्। अमेरिकी अभियोजकहरूले उनीहरू अमेरिकामा कोकिन पठाउने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएका छन्। दोषी ठहर भए उनीहरूलाई आजीवन कारावाससम्मको सजाय हुन सक्छ।
प्रकाशित: १५ भाद्र २०८३ ०८:४२ सोमबार





