१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा प्रदर्शनका बेला प्रहरी हत्याको अभियोग लागेका थप दुई जनालाई मृत्युदण्ड

इरानमा विरोध प्रदर्शनका समयमा प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा दोषी ठहरिएका थप दुई जनालाई मृत्युदण्ड दिइएको छ। राज्य सञ्चालित सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उनीहरूलाई मृत्युदण्ड दिइएको हो।

देशको न्यायपालिकासँग सम्बद्ध मिजान अनलाइन डट आईआरको रिपोर्टले मृत्युदण्ड दिइएका ती दुई व्यक्तिको पहिचान अबोलफजल सेपाही बदजानी र अमिर हुसेन सफारी हुसेनाबादीको रूपमा गरेको छ। उनीहरूले राजधानी तेहरानबाट लगभग चार सय किलोमिटर दक्षिणमा पर्ने मध्य शहर इस्फहानमा रहेको एक प्रहरी चौकीमा आगजनी गर्नुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएका थिए।

जनवरीमा भएको राष्ट्रव्यापी विरोध प्रदर्शनमाथिको दमनको क्रममा पक्राउ परेका हजारौं मानिसमध्ये यी दुईलाई दिइएको मृत्युदण्ड पछिल्लो घटना हो। अधिकार समूहहरूले यस मुद्दामा थप धेरैलाई मृत्युदण्डको सजाय हुन सक्ने बताएका छन्। गत डिसेम्बरको अन्त्यतिर सुरु भएर जनवरीसम्म फैलिएको यो विरोध प्रदर्शनमा सुरक्षा बलले ठूलो झडपको सामना गर्नुपरेको थियो।

यसअघि पनि इरानले सोही मुद्दामा अन्य व्यक्तिहरूलाई मृत्युदण्ड दिइसकेको छ।

इरानमा भएको उक्त विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या तीन हजारभन्दा बढी रहेको सरकारी पक्षले जनाएको छ। तर, अधिकारकर्मी तथा कार्यकर्ताहरूले भने यो संख्या धेरै बढी रहेको दाबी गरेका छन्। एजेन्सी 

प्रकाशित: १२ श्रावण २०८३ १९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App