२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प-सी फोनवार्ता : ताइवानको कडा चेतावनी, अप्रिलमा बेइजिङ उड्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच सोमबार फोनमा लामो कुराकानी भएको छ। ट्रम्पले अप्रिलमा बेइजिङ भ्रमण गर्ने र अर्को वर्ष सीलाई अमेरिकाको राजकीय भ्रमणको निम्तो दिएको घोषणा गरेका छन्। दुवै नेताले युक्रेन, फेन्टानिल, व्यापार र ताइवान मुद्दामा छलफल गरेका थिए।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चीनसँगको हाम्रो सम्बन्ध अत्यन्तै बलियो छ।’ चीनले २० लाख मेट्रिक टन अमेरिकी भटमास किन्न थालिसकेको छ भने फेन्टानिल बनाउने रसायनमा निर्यात प्रतिबन्ध लगाएको छ। बदलामा अमेरिकाले चिनियाँ सामानमा केही कर घटाएको छ।

कुराकानीमा सीले ताइवानको मुख्य भूमि चीनमा फिर्तालाई ‘युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको अभिन्न अंग’ भन्ने कुरामा जोड दिए। ट्रम्पले यस विषयमा सार्वजनिक रूपमा केही बोलेका छैनन्।

यसबिच ताइवानका प्रधानमन्त्री चो जङ–ताईले तुरुन्तै यसबारे जवाफ दिएका छन्। उनले भनेका छन्, ‘हाम्रा २ करोड ३० लाख जनताका लागि चीनमा “फर्कनु” कुनै विकल्प होइन, यो स्पष्ट छ।’ 

यसअघि जापानकी प्रधानमन्त्री साने ताकाइचीले पनि ताइवानमाथि आक्रमण भए जापानी सेना संलग्न हुन सक्ने चेतावनी दिएकी थिइन्। बेइजिङले यो टिप्पणीको कडा निन्दा गरेको छ।

युक्रेन मुद्दामा सीले ‘निष्पक्ष र दिगो शान्ति सम्झौता’ को पक्षमा रहेको बताए। ट्रम्पले पनि युद्ध अन्त्य गर्न प्रयासरत रहेको दाबी गरेका छन्। एजेन्सी 

प्रकाशित: ९ मंसिर २०८२ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App