अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यदि रूसले युक्रेनसँगको युद्ध चाँडै समाधान नगरे युक्रेनलाई टोमाहक क्षेप्यास्त्र पठाउने चेतावनी दिएका छन्। उनले यस्ता हतियार प्रणाली प्रयोग गरेर रूसमाथि दबाब दिन सकिने बताए।
इजरायल र इजिप्ट जाँदै गरेको विमानमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टोमाहक लगायत हतियारबारे छलफल गरेको बताए। दुई नेताले शनिबार र आइतबार फोनमा कुराकानी गरेका थिए।
‘म भन्न सक्छु यदि यो (रूस-युक्रेन) युद्ध समाधान भएन भने युक्रेनलाई टोमाहक पठाउँछु। टोमाहक एक शक्तिशाली हतियार हो, जुन धेरै आक्रामक हुन्छ। रूसलाई यो चाहिएको छैन।’ ट्रम्पले पत्रकारहरूलाई भने।
उनले थपे, ‘म भन्न सक्छु, यदि युद्ध समाधान भएन भने हामी धेरै कुरा गर्न सक्छौं। यो कुरा उठाउनु ठीक हुन्छ।’
टोमाहक क्षेप्यास्त्रको दायरा २५ सय किलोमिटर छ, जसले मस्कोसम्म प्रहार गर्न सक्छ। ट्रम्पले युक्रेनलाई यस्ता क्षेप्यास्त्र दिएमा यो ‘आक्रामक कदम’ हुने र रूसले यसको विरोध गरेको बताए।
रूसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि ठूलो आक्रमण गरेपछि ट्रम्पको यो भनाइ आएको हो। मस्कोले युक्रेनलाई टोमाहक दिएकोमा चिन्ता व्यक्त गरेको छ।
ट्रम्पले भने, ‘अमेरिकाले युक्रेनलाई सिधै टोमाहक नदिएर नेटोलाई दिनेछ, जसले युक्रेनलाई प्रदान गर्न सक्छ।’
जेलेन्स्कीले भनेका छन्, ‘यदि वासिङ्टनले टोमाहक दियो भने हामी यसलाई रूसका नागरिकविरुद्ध प्रयोग गर्दैनौं, यो केवल सैन्य उद्देश्यका लागि हुनेछ।’ एजेन्सी
प्रकाशित: २७ आश्विन २०८२ ०८:४२ सोमबार





