१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको धम्कीपूर्ण दाबी : ग्रीनल्यान्डलाई 'सजिलो वा कठिन तरिकाले' अमेरिकाले लिन्छ!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गरेका छन्। आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यदि वासिङ्टनले कदम नचाले रुस वा चीनले उक्त टापु ‘कब्जा’ गर्ने चेतावनी दिए।

ट्रम्पका अनुसार आर्कटिक क्षेत्रमा रुस र चीनको सैन्य गतिविधि बढिरहेका बेला खनिज स्रोतले भरिपूर्ण डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्डमाथि नियन्त्रण अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण छ। ‘यदि हामीले ग्रिनल्यान्ड लिएनौँ भने, रुस वा चीनले लिनेछन् र म त्यसो हुन दिन्नँ’, उनले भने। यद्यपि, कुनै पनि देशले औपचारिक रूपमा उक्त टापुमा दाबी गरेको छैन।

उनले डेनमार्कको स्वशासित क्षेत्रसँग सम्झौता गर्न आफू खुला रहेको बताउँदै ‘तर कुनै न कुनै तरिकाले ग्रिनल्यान्ड हामीसँग हुनेछ’ भने। ट्रम्पको यस भनाइप्रति डेनमार्क र अन्य युरोपेली सहयोगीहरूले चिन्ता व्यक्त गरेका छन्। ग्रिनल्यान्ड उत्तर अमेरिका र आर्कटिकबीच रणनीतिक स्थानमा रहेको छ र दोस्रो विश्वयुद्धदेखि नै त्यहाँ अमेरिकी सैन्य आधार छ।

सन् १९५३ सम्म डेनमार्कको उपनिवेश रहेको ग्रिनल्यान्डले पछि स्वशासन पाएको थियो र पछिल्ला वर्षहरूमा डेनमार्कसँगको सम्बन्ध खुकुलो बनाउने बहस चलिरहेको छ। तर टापुका अधिकांश बासिन्दा र राजनीतिक दलहरूले आफूहरू अमेरिकी नियन्त्रणमा जान नचाहेको स्पष्ट गर्दै आफ्नै भविष्य आफैँले तय गर्ने अधिकारमा जोड दिएका छन्। ट्रम्पले भने यस दृष्टिकोणलाई पटक–पटक चुनौती दिँदै आएका छन्।

‘ग्रिनल्यान्डले सम्झौता गर्नुपर्छ किनभने ग्रिनल्यान्डले रुस वा चीनलाई आफ्नो नियन्त्रणमा लिएको देख्न चाहँदैन’, भन्दै उनले आफ्नो भनाइलाई ठट्टामिश्रित शैलीमा बचाउ गरे। ग्रिनल्यान्डको सुरक्षालाई व्यङ्ग्य गर्दै उनले ‘त्यहाँको रक्षा के हो भने दुईवटा कुकुर स्लेज मात्र हुन्’ भने। उनले रुस र चीनसँग ‘सबैतिर विध्वंसक हतियार र पनडुब्बीहरू छन्’ भने।

यसअघि डेनमार्ककी प्रधानमन्त्री  मेट्टे फ्रेडरिक्सेनले ग्रिनल्यान्डमाथि बल प्रयोग गरेर नियन्त्रण गर्ने कुनै पनि अमेरिकी प्रयासले आठ दशकदेखि कायम रहेको सुरक्षा सम्बन्धलाई क्षति पुर्‍याउने चेतावनी दिएका थिइन्। त्यसप्रति प्रतिक्रिया दिँदै ट्रम्पले ‘यदि यसले असर गर्छ भने, असर गर्छ’ भन्दै टिप्पणीलाई हल्का रूपमा लिए। उनले भने, ‘तर तपाईंलाई थाहा छ, ग्रिनल्यान्ड हामीलाई उनीहरूलाई चाहिनेभन्दा धेरै आवश्यक छ।’ एजेन्सी 

प्रकाशित: २८ पुस २०८२ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App