२३ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान युद्धमा ट्रम्प आक्रोशित : ‘पागल हरामीहरू’ भन्दै कठोर धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कठोर र आक्रामक धम्की दिँदै होर्मुज जलमार्ग तुरुन्त खोल्न अल्टिमेटम दिएका छन्।

इरानले अमेरिकी पाइलट उद्धार कार्यका क्रममा दुई सी-१३० विमान र दुई ब्ल्याक हक हेलिकप्टर खसालेको दाबी गरेपछि ट्रम्प आक्रोशित बनेका हुन्। अमेरिकी पक्षले भने पाइलट उद्धारपछि आफैं विमान नष्ट गरेको बताएको छ। 

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले इरानी नेतृत्वलाई ‘पागल हरामीहरू’ को संज्ञा दिएका छन्।

ट्रम्पले आगामी मंगलबार इरानका विद्युत् गृह र पुलहरूमा भीषण आक्रमण गर्ने घोषणा गर्दै लेखेका छन्, ‘मंगलबार इरानमा विद्युत् गृह दिवस र पुल दिवस एकैसाथ हुनेछ। यो आक्रमण हामीले पहिले कहिल्यै नदेखेको जस्तो हुनेछ! होर्मुजको जलमार्ग खोल, नत्र तिमी पागल हरामीहरू नर्कमा बाँच्नेछौ! हेरिराख! अल्लाहसँग प्रार्थना गर।’

यो धम्की इरानले एक महिनाभन्दा धेरै समयदेखि जारी युद्धमा होर्मुज जलमार्ग बन्द गरेर विश्वव्यापी तेल आपूर्ति प्रभावित बनाएकाले आएको हो। ट्रम्पले म्याद केही पटक थपे पनि अब मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिएका छन्।

इरानले ट्रम्पको यस धम्कीलाई ‘आपराधिक मानसिकता’ को पराकाष्ठा र युद्ध अपराध उक्साउने कार्य भन्दै अस्वीकार गरेको छ। इरानी अधिकारीहरूले यो अन्तर्राष्ट्रिय कानूनविपरीत रहेको बताएका छन्।

इरानी सर्वोच्च नेताका सल्लाहकार अली अकबर वेलायातीले अमेरिका वा इजरायली आक्रमण बढेमा इरानले विश्वव्यापी आपूर्ति शृङ्खला नै ध्वस्त बनाइदिने चेतावनी दिएका छन्।

उनले होर्मुज मात्र नभई बाब-एल-मन्देब जस्ता अन्य महत्त्वपूर्ण समुद्री मार्गहरू पनि बन्द गरिदिने संकेत गरेका हुन्। इरान समर्थित समूहहरूले क्षेत्रीय तेल तथा ग्यास सुविधाहरूमा थप आक्रमण गर्ने बताएका छन्।

जारी युद्धमा इजरायली सहर हाइफामा इरानी क्षेप्यास्त्र प्रहारबाट आवासीय भवनमा क्षति पुगेको छ। भग्नावशेषबाट दुई जनाको शव निकालिएको छ भने अन्य दुई जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। उद्धार टोलीले खोजी जारी राखेका छन्।

बढ्दो तनावको बिचमा चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले टेलिफोन संवाद गर्दै सैन्य कारबाही रोक्न र तत्काल युद्धविराम लागू गर्न आह्वान गरेका छन्। 

चीनले सुरक्षा परिषद्का सदस्यका रूपमा दुवै पक्षले निष्पक्ष भूमिका खेल्नुपर्नेमा जोड दिएको छ। इरानको समर्थन पाएका यमनका हुथी विद्रोहीहरूले लाल सागरमा थप जहाजहरूलाई निशाना बनाउने चेतावनी दिएका छन्। एजेन्सी

प्रकाशित: २३ चैत्र २०८२ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App