अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको शीर्ष नेतृत्वमाथि भएको आक्रमणलाई सत्ता परिवर्तन सरह भएको बताएका छन्। पूर्व सर्वोच्च नेता अली खामेनीसहित दर्जनौँ शीर्ष अधिकारीहरू मारिएको घटनालाई उनले ‘पुरानो शासनको पतन’ को रूपमा चित्रण गरेका हुन्।
ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले अमेरिकी सेनाले इरानका कैयौँ महत्वपूर्ण लक्ष्यहरू ध्वस्त पारेको दाबी गरे। फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले आफ्नो मुख्य रुचि इरानको तेलमा रहेको खुलासा गरेका छन्। उनले भने, ‘मेरो मनपर्ने कुरा इरानबाट तेल लिनु हो, तर अमेरिकाका केही मूर्खहरू मलाई प्रश्न गर्छन्।’ उनले इरानको ९० प्रतिशत तेल निर्यात हुने खर्ग टापु कब्जा गर्ने विकल्प समेत खुला रहेको बताए।
ट्रम्पले इरानसँगको लडाइँ छिट्टै समाप्त गर्न सम्झौता सम्भव रहेको दाबी समेत गरेका छन्। उनले हालसम्म १३ हजार लक्ष्यमा बमबारी भइसकेको र अब झन्डै २ हजार लक्ष्य बाँकी रहेको जानकारी दिए। उनले भने, ‘एक सम्झौता एकदम छिटो गर्न सकिन्छ।’ ट्रम्पले १५ बुँदे अमेरिकी प्रस्तावका अधिकांश माग इरानले स्वीकार गरेको दाबी गरे पनि यसको औपचारिक पुष्टि भने भएको छैन।
खामेनीका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनी सम्पर्कविहीन रहेको ट्रम्पले उल्लेख गरेका छन्। ‘उनी जीवित हुन सक्छन्, तर उनी गम्भीर घाइते छन्,’ उनले भने। मोज्तबा युद्धको पहिलो दिन भएको आक्रमणमा घाइते भएको ठानिएको छ।
ट्रम्पले इरानले आणविक हतियार पूर्ण रूपमा त्याग्नुपर्ने सर्त राख्दै देश नरहने चेतावनी समेत दिएका छन्। उनले भने, ‘यदि उनीहरूले सम्झौता गरेनन् भने उनीहरूको देश रहने छैन।’ उनले इरान पछिल्लो समय ‘व्यावहारिक’ भएको टिप्पणी समेत गरे। इरानले होर्मुज जलमार्ग हुँदै थप २० वटा तेल ट्यांकर जान दिन सहमति जनाएको उनले दाबी गरेका छन्। यसले वार्ताको सकारात्मक वातावरण बनाउने ट्रम्पको बुझाइ छ। एजेन्सी
प्रकाशित: १६ चैत्र २०८२ १०:१२ सोमबार


-600x400.jpg)


