१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको दाबी: ‘नरेन्द्र मोदी रुसबाट तेल खरिद रोक्न सहमत भए’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल खरिद बन्द गर्न भारत सहमत भएको दाबी गरेका छन्।

बुधबार अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन्।

उनले भनेका थिए, ‘रुसले पहिलो हप्तामै युद्ध जित्ने दाबी गरेको थियो, तर यो (रुस-युक्रेन युद्ध) सुरु भएको चार वर्ष भइसक्यो। म यो युद्ध अन्त्य भएको हेर्न चाहन्छु,’ ट्रम्पले भने, ‘भारतले रुसबाट तेल किनेकोमा म खुसी थिइनँ। आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मलाई रुसबाट तेल नकिन्ने आश्वासन दिनुभएको छ।’

यद्यपि, वाशिङ्टन डीसीस्थित भारतीय दूतावासले यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ।

ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसमाथि आर्थिक दबाब सिर्जना गर्नु अनिवार्य रहेको र रुसबाट तेल किन्ने देशहरूले अप्रत्यक्ष रूपमा युद्धमा मद्दत गरिरहेको बताउँदै आएका छन्।

राष्ट्रपतिले ट्रम्पले भारतको रुसी तेल खरिदलाई आपसी व्यापारमा दबाब सिर्जना गर्ने माध्यम बनाइहेका छन्। तर भारतले यसको विरोध गर्दै आएको थियो। सोही कारण पछिल्लो समय यी दुई देशबीच व्यापारिक तनाव बढ्दो छ। रुस कच्चा तेल र ग्यासको प्रमुख निर्यातक हो। उसको प्रखुम खरिदकर्ताहरूमा चीन, भारत र टर्की पर्छन्।

‘अब मैले चीनलाई पनि यसो गर्नका लागि मनाउनु छ,’ ट्रम्पले बुधबार आफ्नो ओभल अफिसमा भने।

एक प्रश्नको जवाफमा भारतबारे उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा मित्र हुनुहुन्छ। हाम्रो सम्बन्ध निकै राम्रो छ। भारतले तेल किनिरहेकोमा म खुसी थिइनँ र आज उहाँले मलाई रुसबाट तेल नकिन्ने आश्वासन दिनुभएको छ।’

ट्रम्प प्रशासनले रुसको आम्दानी रोक्नका लागि चीन लगायत अन्य व्यापारिक साझेदारहरूलाई पनि रुसबाट तेल खरिद बन्द गर्न दबाब दिइरहेको छ।

ट्रम्प प्रशासनले भारतबाट आउने सामानमा ५० प्रतिशतसम्म भन्सार शुल्क (ट्यारिफ) लगाएको छ। ट्रम्पले यस ट्यारिफलाई रुसबाट तेल र हतियार किनेबापत भारतलाई दिइएको सजायका रुपमा व्याख्या गरेका छन्।

अगस्टदेखि लागू भएका यी ट्यारिफहरूले भारतलाई ठूलो धक्का पुगेको छ। यसमा रुससँगको कारोबारमा २५ प्रतिशत अतिरिक्त शुल्क पनि समावेश छ।

विगत केही महिनादेखि मोदीले भारत रुस-युक्रेन युद्धमा निष्पक्ष रहेको आफ्नो अडान स्पष्ट पार्दै आएका छन्।

प्रकाशित: ३० आश्विन २०८२ ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App