२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानले आणविक हतियार बनाउन प्रयोग हुने युरेनियम अमेरिकालाई बुझाउने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफ्नो समृद्ध युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका छन्। आणविक हतियार निर्माणमा प्रयोग हुन सक्ने भनिएको उक्त भण्डार बुझाउन इरान तयार भएको उनको भनाइ छ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले दुई देश शान्ति सम्झौताको निकै नजिक पुगेको बताए। उनले वार्ता सफल रूपमा अगाडि बढिरहेको र सम्झौता हुने सम्भावना उच्च रहेको जानकारी दिए। 

ट्रम्पले भने, ‘इरान आज ती कुराहरूका लागि तयार छ जुन दुई महिना अघि तयार थिएन।’ सम्झौता भएमा तेल आपूर्ति पुनः सुरु हुने र होर्मुजको जलमार्ग खुला भई अवस्था सामान्य बन्ने उनको दाबी छ।

यद्यपि, इरानको सरकारी सञ्चारमाध्यमले भने ट्रम्पको यो दाबीको खिल्ली उडाएको छ। इरानी सरकारी प्रसारक आइआरआइबीले ट्रम्पले हावामा महल निर्माण गरिरहेको टिप्पणी गरेको छ। आइआरआइबीले एउटा फारसी उखान उद्धृत गर्दै ट्रम्पका आशाहरूको कुनै ठोस आधार नभएको बताएको छ।

ट्रम्पले इरान विरुद्धको सैन्य कारबाहीमा सहयोग नगरेको भन्दै नेटो गठबन्धनप्रति आक्रोश पनि पोखेका छन्। अमेरिकाले नेटोमा ठुलो रकम खर्च गरे पनि आवश्यक पर्दा कसैले साथ नदिएको उनको गुनासो छ।

यसैबिच, इजरायल र लेबनानबिच १० दिने युद्धविराममा सहमति भएको छ। ट्रम्पले आफूले विश्वमा नौ वटा युद्ध समाधान गरिसकेको र यो दसौँ भएको दाबी गरेका छन्। उनले लेबनानी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीलाई ह्वाइट हाउसमा आमन्त्रण गर्ने समेत बताएका छन्।

यो पनि पढ्नुहोस्

इजरायल र लेबनानबिच युद्धविराम भएको ट्रम्पको घोषणा : इरानले के भन्यो ?

अमेरिकी रक्षा गुप्तचर एजेन्सीका प्रमुख जेम्स एडम्सले अमेरिकी आक्रमणका बाबजुद इरानसँग अझै पनि हजारौँ क्षेप्यास्त्र र ड्रोनहरू सुरक्षित रहेको बताएका छन्। अमेरिकी दाबीअनुसार इरानका आधा क्षेप्यास्त्र प्रहार गर्ने यन्त्रहरू अझै पनि जस्ताको तस्तै छन्, जसले अमेरिका र उसका सहयोगीहरूका लागि खतरा निम्त्याउन सक्छ।

सम्झौताका लागि यसै साताको अन्त्यमा अर्को प्रत्यक्ष वार्ता हुन सक्ने बताइएको छ। तर वार्ता असफल भएमा लडाइँ फेरि सुरु हुन सक्ने चेतावनी समेत दिइएको छ। एजेन्सी 

प्रकाशित: ४ वैशाख २०८३ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App