३ वैशाख २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्य नजिक भएको ट्रम्पको दाबी : इजरायल र लेबनानबिच प्रत्यक्ष वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको र आगामी दुई दिनभित्रै दोस्रो चरणको वार्ता हुन सक्ने बताएका छन्। 

न्यु योर्क पोस्टसँगको कुराकानीमा उनले सुरुमा वार्ता युरोपमा हुने बताए पनि पछि पाकिस्तानको राजधानी इस्लामाबादमा हुन सक्ने संकेत गरेका हुन्।

त्यस्तै फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘मलाई लाग्छ यो समाप्त हुन लागेको छ। म यसलाई समाप्त हुन धेरै नजिक देख्छु।’ उनले अमेरिकी र इजरायली आक्रमणबाट भएको विनाशपछि इरानलाई पुनरुत्थान गर्न २० वर्ष लाग्ने दाबी गर्दै थपे, ‘मलाई लाग्छ उनीहरू धेरै नराम्रोसँग सम्झौता गर्न चाहन्छन्।’ 

उनले यदि आफूले युद्ध नगरेको भए इरान अहिलेसम्म आणविक हतियार बनाउन सक्षम भइसक्ने दाबी समेत गरेका छन्।

पाकिस्तानको विदेश मन्त्रालयले पनि दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याउन प्रयास गरिरहेको बताएको छ। पहिलो चरणको वार्ता गत शनिबारदेखि आइतबारसम्म इस्लामाबादमा भएको थियो जसमा कुनै सहमति भएको थिएन। पाकिस्तानले दोस्रो चरणको वार्ता इस्लामाबादमै आयोजना गर्न प्रस्ताव गरेको छ।

यसैबिच, अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा पूर्ण नाकाबन्दी लागू गरेको छ। अमेरिकी दाबीअनुसार विगत २४ घण्टामा कुनै पनि जहाज उक्त नाकाबन्दी छलेर आवतजावत गरेका छैनन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत नाकाबन्दी क्षेत्रमा आउने इरानी युद्धपोतलाई ध्वस्त पार्ने चेतावनी दिएका छन्।

इरानले हालको अमेरिकी नाकाबन्दीलाई युद्धविरामको उल्लंघन मान्दै यसले परिस्थिति थप जटिल बनाउन सक्ने बताएको छ। तेहरानले कडा जवाफ दिने धम्की दिएको छ।

अर्कातर्फ, वासिङ्टन डीसीमा इजरायल र लेबनानबिच दशकौंपछि पहिलो पटक प्रत्यक्ष कूटनीतिक वार्ता सुरु भएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसलाई ‘ऐतिहासिक कोसेढुंगा’ भनेका छन्। वार्तामा कुनै सहमति भने जुट्न सकेन्। यद्यपि, जमिनमा भने इजरायली सेनाले लेबनानमा बमबारी जारी राखेको छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोषले इरानसँगको युद्ध थप बढ्दै गए र तेल बजारमा अवरोध आए विश्व अर्थतन्त्र मन्दीमा धकेलिने चेतावनी दिएको छ। एजेन्सी 

प्रकाशित: २ वैशाख २०८३ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App