१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको गुजरातमा ४५ वर्ष पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा रहेको एउटा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु भएको छ। 

वडोदरा जिल्लाको आनन्द र पड्रा जोड्ने गम्भीरा पुल भत्किएको हो। पुल भत्किँदा दुई ट्रक, दुई कार, र एउटा रिक्सा सहित पाँच सवारी साधन नदीमा खसेका छन्। एउटा ट्याङ्कर भाँचिएको छेउमा अड्किएको छ।

दुर्घटनामा ८ जनालाई स्थानीय बासिन्दाले उद्धार गरेका छन्। स्थानीय प्रशासनले उद्धार कार्य तीव्र बनाएको छ। तीनवटा दमकल टोली परिचालन गरिएको छ। सन् १९८० मा बनेको यो ४५ वर्ष पुरानो नौ सय मिटर लामो पुल पटक-पटक मर्मत गरिए पनि जीर्ण अवस्थामा थियो। 

विपक्षी दलहरूले यो पुल खतरनाक भएको र मर्मत वा बन्द गर्न सरकारले ध्यान नदिएको आरोप लगाएका छन्। स्थानीय बासिन्दाले पनि मर्मतको माग गर्दै आएको तर बेवास्ता गरिएको गुनासो गरेका छन्।

राज्यका मन्त्री ऋषिकेश पटेलले दुर्घटनाको कारण अनुसन्धान गर्न सरकारले निर्देशन दिएको बताएका छन्। यो पुल भत्किँदा दक्षिण गुजरातका भरुच, सुरत, नवसारी, तापी, र वलसाडजस्ता सहरहरूबाट सौराष्ट्र पुग्न अहमदाबाद हुँदै लामो बाटो प्रयोग गर्नुपर्ने भएको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुख व्यक्त गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख भारतीय रुपैयाँ र घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन्। 

यो घटनालाई लिएर सरकारमाथि लापरवाहीको आरोप लागेको छ। एजेन्सी

प्रकाशित: २५ असार २०८२ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App