२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
सम्पादकीय

पारिवारिक हिंसाको पीडा

पछिल्ला वर्षमा परिवारभित्र हुने हत्या र हिंसाका घटनाले भयावह रूप लिन थालेका छन्। श्रीमान–श्रीमतीबिचको विवाद, सम्बन्धविच्छेद, विवाहइतर सम्बन्ध, आर्थिक तनाव तथा मानसिक असन्तुलनका कारण परिवार नै हिंसाको अखडा बन्न थालेको छ । पछिल्ला केही सातामै काठमाडौं, भक्तपुर, झापा, गुल्मी र हेटौंडामा पतिले पत्नीको हत्या गरेका घटना सार्वजनिक भएका छन्।

चालु आर्थिक वर्षको साउनयता मात्रै पतिबाट ६८ पत्नीको हत्या भएको छ भने पत्नीबाट पति मारिएका घटना सात छन् । अघिल्लो आर्थिक वर्षमा पनि ६९ जना महिलाले आफ्नै पतिको हातबाट ज्यान गुमाएका थिए । यो भयावह तथ्यांकले सुरक्षा र ममताको केन्द्र हुनुपर्ने  पारिवारिक संरचना नै असुरक्षित बन्दै गएको छ।

स्मरणीय छ, परम्परागत रूपमा पारिवारिक सद्भाव, सामूहिकता र सहअस्तित्वको उदाहरणका रूपमा नेपाली समाजलाई मानिन्छ । संयुक्त परिवार, छरछिमेकबिचको आत्मीय सम्बन्ध, ज्येष्ठ सदस्यप्रतिको सम्मान र सामाजिक उत्तरदायित्वका कारण पारिवारिक विवादहरू प्रायः संवाद र मेलमिलापमार्फत समाधान हुने यसको चरित्र रहँदै आएको हो । विगतमा  हिंसात्मक घटनाहरू बिरलै सुनिन्थे । पहिला परिवार र समाजलाई सामाजिक सुरक्षाको सबैभन्दा बलियो आधार मानिन्थ्यो । पछिल्ला दशकहरूमा तीव्र सहरीकरण, वैदेशिक रोजगारी, उपभोक्तावादी संस्कृति, सामाजिक सञ्जालको प्रभाव तथा विश्वव्यापीकरणसँगै आएका सामाजिक परिवर्तनले परम्परागत सम्बन्धका आधार कमजोर बनाउँदै लगेका छन् । आधुनिकता आफैं समस्या होइन तर त्यससँगै आएका अति व्यक्तिवाद, असहिष्णुता र सम्बन्धलाई क्षणिक रूपमा हेर्ने प्रवृत्तिले पारिवारिक बन्धनलाई चुनौती दिइरहेको छ।

हुन पनि, परिवार समाजको आधारभूत संस्था हो । व्यक्तिको चरित्र निर्माण, नैतिक मूल्यको विकास, भावनात्मक सुरक्षा र सामाजिक उत्तरदायित्वको पहिलो पाठ परिवारमै सिकाइन्छ । जब यही संस्था कमजोर बन्छ, त्यसको प्रभाव केवल एक घर वा एक दम्पतीमा सीमित रहँदैन, यसले सम्पूर्ण समाजको सामाजिक पुँजी, विश्वास र एकतालाई क्षति पुर्‍याउँछ । परिवारभित्र बढ्दो हिंसा र अविश्वासले आगामी पुस्ताको मानसिक स्वास्थ्य, सामाजिक व्यवहार र सम्बन्धप्रतिको दृष्टिकोणमा समेत नकारात्मक असर पार्न सक्छ । त्यसैले परिवार संस्थाको क्षयीकरणलाई केवल निजी समस्या ठानेर बेवास्ता गर्न मिल्दैन । यो सामाजिक स्थायित्व, शान्ति र सभ्यताको भविष्यसँग जोडिएको गम्भीर राष्ट्रिय चिन्ताको विषय हो।

त्यसो त, बढ्दो हिंसाको ज्वरो केवल व्यक्तिगत रिस, आवेग वा मानसिक असन्तुलनमा मात्र सीमित छैन । समाजमा गहिरोसँग जरा गाडेर बसेको पितृसत्तात्मक सोच यसको प्रमुख कारणमध्ये एक हो । अझै पनि कतिपय पुरुषले पत्नीलाई नियन्त्रणमा  राख्नुपर्ने प्रवृत्ति त्याग्न सकेका छैनन् । कतिपय अवस्थामा महिलाहरू शिक्षित र आत्मनिर्भर बन्दै आफ्नो अधिकारका लागि आवाज उठाउन थालेपछि कतिपय पुरुषको असहिष्णुता झन् बढेको पनि देखिन्छ । सम्बन्धविच्छेद, असहमति वा स्वतन्त्र निर्णयलाई स्वीकार गर्न नसक्ने मानसिकताले हिंसालाई जन्म दिइरहेको छ।

यससँगै सामाजिक सञ्जालको बढ्दो प्रभाव पनि चिन्ताको विषय बनेको छ । फेसबुक, टिकटक, युट्युब र अन्य प्लेटफर्महरूमा हुने सार्वजनिक आरोप–प्रत्यारोप, चरित्रहत्या, घृणात्मक टिप्पणी र निरन्तर तुलना गर्ने संस्कृतिले पारिवारिक सम्बन्धमा तनाव बढाइरहेको छ । सामाजिक सञ्जालले धेरैलाई सूचना र अभिव्यक्तिको अवसर दिएको भए पनि यसले शंका, असुरक्षा, ईष्र्या र आक्रोशलाई समेत बढावा दिएको छ । दम्पतीबिचका सामान्य विवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदा सम्बन्ध झन् जटिल बन्ने गरेका छन् । कतिपय अवस्थामा अनलाइन सम्पर्क र विवाहइतर सम्बन्धले पनि परिवार विखण्डित हुने र हिंसालाई उक्साउने गरेको देखिन्छ।

पारिवारिक संरचनामा आएको परिवर्तनले पनि समस्या थप गहिरिएको पाइन्छ । वैदेशिक रोजगारी, सहरीकरण, एकल परिवारको वृद्धि तथा आर्थिक दबाबका कारण पारिवारिक सम्बन्ध कमजोर बन्दै गएका छन् । पहिले परिवार र समुदायबाट प्राप्त हुने भावनात्मक सहयोग अहिले कम हुँदै गएको छ । परिणामस्वरूप तनाव, निराशा र आवेग व्यवस्थापन गर्न नसक्ने व्यक्तिहरू हिंसात्मक व्यवहारतर्फ उन्मुख हुने गरेका छन्।

यस सन्दर्भमा मदिरा तथा लागुपदार्थको बढ्दो प्रयोग अर्को गम्भीर चुनौती हो । यस्ता पदार्थको सेवनले निर्णय क्षमता कमजोर बनाउने, शंका र आक्रोश बढाउने तथा हिंसात्मक व्यवहारलाई प्रोत्साहित गर्ने तथ्य विभिन्न अध्ययनले देखाएका छन् । प्रहरी र मनोविज्ञहरूका अनुसार धेरै घरेलु हिंसाका घटनामा मदिरा वा लागुपदार्थ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका हुन्छन्।

प्रस्ट छ, यो समस्या समाधानमा केवल कानुनी कारबाही पर्याप्त हुँदैन । विद्यालयदेखि परिवारसम्म सम्मान, समानता र संवादको संस्कार विकास गर्न आवश्यक छ । दम्पती परामर्श सेवा, मानसिक स्वास्थ्य सहायता, हटलाइन सेवा तथा समुदायस्तरमा सचेतना कार्यक्रम विस्तार गरिनुपर्छ । सामाजिक सञ्जाललाई जिम्मेवार र मर्यादित बनाउने अभियान पनि उत्तिकै आवश्यक छ । साथै घरेलु हिंसाका उजुरीलाई गम्भीरतापूर्वक लिने र पीडितलाई समयमै संरक्षण उपलब्ध गराउने राज्यको दायित्व अझ प्रभावकारी हुनुपर्छ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने परिवारभित्रको हत्या केवल एक व्यक्तिको मृत्यु होइन, यो समाजको नैतिक, सामाजिक र मानवीय असफलताको संकेत हो । हामीले अहिले नै यसको कारक पहिचान गरी प्रभावकारी हस्तक्षेप गर्न सकेनौं भने हिंसा र अविश्वासले परिवार मात्र होइन, समग्र समाजलाई नै कमजोर बनाउनेछ । सुरक्षित, समानतामूलक र सहिष्णु समाज निर्माणका लागि परिवारभित्र हुने हिंसा अन्त्य गर्नु अपरिहार्य आवश्यकता हो।  

प्रकाशित: २८ जेष्ठ २०८३ ०६:०५ बिहीबार

Download Nagarik App