भारतीय निर्यातकर्ताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको धेरै जनसंख्या भएको राष्ट्रविरुद्ध कर वृद्धिको धम्कीको परिणाम कम गर्न विकल्प खोजिरहेका छन्।
यदि भारतले रुसी तेल किनिरह्यो भने, युक्रेनमा रुसको सैन्य आक्रमणका लागि मस्कोको आम्दानी बन्द गर्ने उद्देश्यले ट्रम्पले नयाँ आयात भन्सार २५ प्रतिशतबाट दोब्बर गरेर ५० प्रतिशत पुर्याउने भनेपछि धेरैले गम्भीर रोजगारी हानिको चेतावनी दिएका छन्।
एलारा सिक्योरिटिजका अर्थशास्त्री गरिमा कपुरले भने, ‘५० प्रतिशत भन्सारमा, भारतका कुनै पनि उत्पादनले प्रतिस्पर्धात्मक लाभ लिन सक्दैन।’
विश्वको ठूलो कच्चा तेल आयातकर्ता भारतसँग आफ्नो हालको तेल आपूर्तिको करिब एक तिहाइ विदेशबाट प्रतिस्थापन गर्ने विकल्प खोज्न अगस्ट २७ सम्म समय छ।
नयाँदिल्ली निर्यात पावरहाउस नभए पनि यसले सन् २०२४ मा लगभग ८७ अर्ब डलर मूल्यका सामान संयुक्त राज्य अमेरिकामा निर्यात गरेको थियो।
अब त्यो ५० प्रतिशत भन्सार शुल्कले रत्न र गहनादेखि कपडा र समुद्री खानासम्मका कम मार्जिन भएका श्रम–गहन उद्योगलाई उल्ट्याउने धम्की दिएको छ।
ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभले सन् २०२५ मा कपडाजस्ता क्षेत्रमा अमेरिकी बिक्रीमा ६० प्रतिशतले गिरावट आउने अनुमान गरेको छ।
निर्यातकर्ताले समयसीमा अघि अर्डर पूरा गर्न दौडिरहेका छन्।
मुम्बईस्थित कपडा र पोशाक निर्यातकर्ता क्रिएटिभ ग्रुपका अध्यक्ष विजय कुमार अग्रवालले भने, ‘अगस्ट २७ अघि जे पनि ढुवानी गर्न सक्छौं, हामी ढुवानी गरिरहेका छौं।’ उनको मुम्बईस्थित कपडा र गार्मेन्ट कम्पनीको अमेरिकी बजारमा लगभग ८० प्रतिशत निर्भरता छ।
तर अग्रवालले यो केवल तत्काल उपचार मात्र हो भनी चेतावनी दिए।
समयसीमाभन्दा अघि सामान ढुवानी गर्दा समस्या ‘समाधान’ नहुने उनले बताए।
‘यदि यो समाधान भएन भने अराजकता हुनेछ,’ उनले भने। उनले आफ्ना १५ हजारदेखि १६ हजार कर्मचारीको भविष्यका लागि चिन्तित रहेको बताए।
‘यो धेरै निराशाजनक अवस्था हो यो व्यापारको ठूलो क्षति हुनेछ,’ उनले भने।
उत्पादन विदेशमा सारिने
समस्या समाधानका लागि वार्ता व्यवसायको पहुँचबाट टाढा भू–राजनीतिमा निर्भर छन्।
ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी गरेका छन्। यो सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेपछि दुई देशका राष्ट्रपतिबीचको पहिलो प्रत्यक्ष भेटघाट हुनेछ।
मस्कोसँग लामो समयदेखि सम्बन्ध रहेको नयाँदिल्ली नाजुक अवस्थामा छ।
ट्रम्पको करको धम्कीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की दुवैसँग कुरा गरेर द्वन्द्वको ‘शान्तिपूर्ण समाधान’ गर्न आग्रह गरेका छन्।
यसैबीच, अमेरिकी भन्सारको प्रभाव भारतमा पहिल्यै महसुस हुन थालेको छ।
केही अमेरिकी खरीदकर्ताबाट नयाँ अर्डर सुक्न थालेको व्यापारीले बताएका छन्। यसले लाखौं डलरको भविष्यको व्यापार र संसारको पाँचौं ठूलो अर्थतन्त्रमा लाखौं मानिसको जीविकोपार्जनलाई खतरामा पारेको छ।
विश्वव्यापी उत्पादन सञ्चालनका साथ भारतका ठूला पोशाक निर्मातामध्ये, केहीले आफ्नो अमेरिकी अर्डर अन्यत्र सार्न खोजिरहेका छन्।
शीर्ष निर्यातकर्ता पर्ल ग्लोबल इन्डस्ट्रिजले भारतीय मिडियालाई यसका केही अमेरिकी ग्राहकले भियतनाम वा बङ्गलादेशजस्ता कम शुल्क भएका देशमा अर्डर उत्पादन गर्न आग्रह गरेको बताएको छ। ती मुलुकमा कम्पनीसँग उत्पादन सुविधा पनि छन्।
प्रमुख पोशाक निर्माता गोकलदास एक्स्पोर्टले ब्लुमबर्गलाई उसले १० प्रतिशत भन्सार रहेको इथियोपिया र केन्यामा उत्पादन बढाउन सक्ने बताएको छ।
हालै मुडीजले भारतका लागि ‘धेरै फराकिलो भन्सार अन्तर’ले ‘सम्बन्धित लगानी आकर्षित गर्न हालैका वर्षमा भएको केही लाभलाई उल्ट्याउन पनि सक्छ’ भनी चेतावनी दिएको छ।
भारतको रत्न र गहना उद्योगले गत वर्ष १० अर्ब डलरभन्दा बढी मूल्यका सामान निर्यात गरेको थियो र लाखौं मानिसलाई रोजगारी दिएको थियो।
‘अहिले केही भइरहेको छैन, सबै ठप्प छ, नयाँ अर्डर रोकिएका छन्,’ डि. नवीनचन्द्र एक्सपोर्टका अजेश मेहताले भने, ‘हामीले एक लाख ५० हजारदेखि दुई लाख कामदार प्रभावित हुने अपेक्षा गरेका छौं।’
रत्न र अन्य महँगा गैर–आवश्यक वस्तु जोखिममा छन्।
‘१० प्रतिशत भन्सार अवशोषणयोग्य थियो २५ प्रतिशत छैन, यो ५० प्रतिशतको त कुरै नगरौं,’ मेहताले भने, ‘दिनको अन्त्यमा, हामी विलासिताका उत्पादनमा व्यापार गर्छौं, जब लागत एक बिन्दुभन्दा बढी जान्छ, ग्राहकले कटौती गर्नेछन्।’
केही अमेरिकी क्रेताले ढुवानी रोक्न भनेका समुद्री खाद्य निर्यातकले नयाँ ग्राहकको आशा गरिरहेका छन्।
‘हामी हाम्रा बजारलाई विविधीकरण गर्न खोजिरहेका छौं,’ बेबी मरीन ग्रुपका साझेदार एलेक्स निनानले भने, ‘संयुक्त राज्य अमेरिका अहिले पूर्ण रूपमा बाहिर छ। हामीले हाम्रा उत्पादनलाई वैकल्पिक बजारमा धकेल्नुपर्छ, जस्तै चीन, जापान रुस अर्को बजार हो जसमा हामीले साँच्चै हेरिरहेका छौं।’
तथापि यो त्यति सजिलो नभएको उनले चेतावनी दिए। ‘तपाईं अचानक बजार सिर्जना गर्न सक्नुहुन्न,’ उनले भने। एएफपी
प्रकाशित: २८ श्रावण २०८२ १२:१४ बुधबार





