१५ भाद्र २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

होर्मुजमा फेरि तनाव : अमेरिकी हमलापछि इरानको जवाफी मिसाइल प्रहार, तेलको मूल्य बढ्यो

अमेरिकाले एक महिनापछि पहिलो पटक होर्मुजको जलमार्गमा इरानी रकेट प्रक्षेपण केन्द्रलाई निशाना बनाएपछि अमेरिका र इरानबिचको तनाव फेरि चर्किएको छ।

सोमबार भएको अमेरिकी हमलापछि इरानले जवाफी कारबाहीस्वरूप जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरेर मिसाइल प्रहार गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का प्रवक्ता टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गार्ड (आईआरजीसी) का सैनिकहरूले होर्मुजको जलमार्गमा समुद्री खानी (माइन) राख्न सक्ने रकेट प्रहारको तयारी गरिरहेको देखिएपछि अमेरिकी सेनाले कारबाही गरेको हो। अमेरिकाले गत साता जलमार्गको अन्तर्राष्ट्रिय जहाज आवतजावत गर्ने क्षेत्रमा रहेका समुद्री खानी हटाउने काम पूरा गरेको थियो।

अमेरिकी हमलापछि इरानको लाराक टापु आसपास विस्फोटका आवाज सुनिएको इरानी अर्धसरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानको सरकारी प्रसारकमार्फत जारी विज्ञप्तिमा आईआरजीसीले आफ्ना केही सैनिक तथा नागरिक मारिनुका साथै घाइते पनि भएको बताएको छ। मृतक तथा घाइतेको संख्या भने खुलाइएको छैन।

त्यसको केही समयपछि इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरेर ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। इरानले जोर्डनका किङ हुसेन र अल अज्राक सैन्य अड्डालाई निशाना बनाइएको बताएको छ। जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ मिसाइल खसालेको बताएको छ। दुवै सैन्य अड्डामा मानवीय क्षति भएको विवरण भने सार्वजनिक भएको छैन।

इरान र अमेरिकाबिचको पछिल्लो संघर्ष जुलाईयताकै ठुलो सैन्य तनाव हो। खुला द्वन्द्व फेरि सुरु भएमा खाडी क्षेत्रमा यसको असर गम्भीर हुन सक्ने चिन्ता बढेको छ। फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा पूर्वाधारलाई लक्षित गर्दै आएको छ। यसअघि अमेरिकाले जुलाई २९ मा इरानका आईआरजीसीका दर्जनौं सैन्य संरचनामाथि ठुलो हमला गरेको थियो। त्यसमा तटीय निगरानी तथा रक्षा केन्द्र पनि निशाना बनाइएको थियो।

अगस्ट १ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको आग्रहपछि थप हमला तत्काल रोक्ने बताएका थिए। पछिल्लो अमेरिकी हमला त्यतिबेला भएको हो, जब ट्रम्प प्रशासनले इरानविरुद्ध सैन्य कारबाहीभन्दा आर्थिक दबाब बढाउने रणनीति अघि बढाउने बताएको थियो।

तेहरानसँग व्यापार गरिरहने देश र संस्थामाथि थप प्रतिबन्ध लगाउने चेतावनी अमेरिकाले दिएको थियो। आईआरजीसीका प्रवक्ता जनरल हुसेन मोहेबीले अमेरिकी हमलालाई ‘आर्थिक युद्धका क्रममा ट्रम्प शासनको घातक गल्ती’ भनेका छन्। उनले अमेरिकाले यसको सैन्य र आर्थिक परिणाम भोग्नुपर्ने बताए।

महिनौं लामो युद्धपछि अमेरिकाको हतियार भण्डारमा दबाब परेको र लामो द्वन्द्वले विश्वका अन्य क्षेत्रमा अमेरिकी सैन्य तयारी प्रभावित हुन सक्ने चिन्ता पनि बढेको छ। ट्रम्पले भने गत साता आफू इरानलाई वार्ताको टेबलमा फर्काउन ‘हतारमा नरहेको’ बताएका थिए।

इरानी अधिकारीहरूले युद्धका कारण देशले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब २७० अर्ब डलर बराबरको क्षति बेहोरेको बताएका छन्। अमेरिकाले भने इरानको नौसेना र वायुसेनामा ठुलो क्षति पुगेको दाबी गर्दै आएको छ।

होर्मुजको जलमार्ग अमेरिका र इरानबिचको तनावको प्रमुख केन्द्र बनेको छ। विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत यही जलमार्ग हुँदै जाने गर्छ। अहिले सुरक्षाको जोखिमका कारण तुलनात्मक रूपमा थोरै जहाजले मात्रै यो मार्ग प्रयोग गरिरहेका छन्।

अमेरिकाले होर्मुजको जलमार्ग खुला रहेको दाबी गर्दै आएको छ। ट्रम्पले गत साता २४ वटा जहाज जलमार्गबाट पार भएको बताएका थिए। तर युद्ध सुरु हुनुअघि दैनिक करिब १३० वटा जहाज आवतजावत गर्ने गरेको तुलनामा यो संख्या निकै कम हो। अमेरिकी नौसेनाको निगरानीमा रहेको बहुराष्ट्रिय गठबन्धनले पनि जलमार्गबाट हुने व्यावसायिक आवतजावत अझै न्यून रहेको बताएको छ।

यसैबिच, बेलायती सेनाअन्तर्गतको समुद्री अनुगमन संस्थाले शनिबार ओमानको खासाबभन्दा उत्तरतर्फ होर्मुजको जलमार्गमा एउटा अज्ञात मिसाइलले ट्यांकर जहाजमा प्रहार गरेको जनाएको छ। घटनामा मानवीय क्षति भएको विवरण आएको छैन। घटनाको जिम्मेवारी पनि कसैले लिएको छैन।

अमेरिकी सेनाका अनुसार सोमबारसम्म उसले इरानी बन्दरगाहको नाकाबन्दीका क्रममा ८३ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गराउनुका साथै तीन वटालाई निष्क्रिय बनाएको छ।

तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ। अमेरिकी कच्चा तेलको मूल्य १.८ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.९४ डलर पुगेको छ। यस्तै, अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य १.९ प्रतिशतले बढेर प्रतिब्यारेल ८९.७९ डलर पुगेको छ।

होर्मुजको जलमार्गबाट हुने तेल तथा ग्यासको आपूर्ति प्रभावित हुने डरका कारण अमेरिका-इरानबिचको पछिल्लो सैन्य तनावले विश्व ऊर्जा बजारमा थप अनिश्चितता बढ्न सक्ने देखिएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: १५ भाद्र २०८३ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App