३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शोकमा स्विट्जरल्याण्ड: कम्तीमा चालिस जनाको मृत्यु,अधिकांश घाइते १६ देखि २६ वर्षका

स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट क्रान्स–मोन्टानामा नयाँ वर्षको पार्टीका क्रममा भएको भीषण आगलागीमा ठूलो संख्यामा हताहती भएको अनुमान गरिएको छ । आगलागीमा करिब ४० जनाको मृत्यु भएको र एक सय जना घाइते भएको समाचारहरूमा उल्लेख छ ।  

स्विट्जरल्यान्डका एक अस्पतालका अनुसार अधिकांश घाइतेहरूको उमेर १६ देखि २६ वर्षको बीचमा छ। इमोजेन फाउल्क्सले रिपोर्ट गरेअनुसार उनीहरूको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  लुसान युनिभर्सिटी अस्पतालमा मात्रै २२ जनाको उपचार भइरहेको छ।  

युनिभर्सिटीका निर्देशक क्लेयर चार्मेले स्थानीय एक पत्रिकासँगको कुराकानीमा बिरामीको औसत उमेर १६ देखि २६ वर्ष भएको र उनीहरूमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइन् । उनका अनुसार, गम्भीर अवस्थाका बिरामीहरूलाई सुविधासम्पन्न अस्पतालमा राखेर उपचार सुरु गरिएको छ । सबैभन्दा गम्भीर अवस्थामा रहेका बिरामीहरूको निको हुने प्रक्रिया “धेरै लामो र गहन हुने, केही हप्तादेखि महिनौँसम्म लाग्न सक्ने” उनले बताएकी छन्।

वालिस क्यान्टनको मुख्य अस्पतालको आकस्मिक कक्ष भरिएपछि घाइतेहरूलाई स्विट्जरल्यान्डका विभिन्न अस्पतालमा सारिएको छ। केही घाइतेहरू जुरिख युनिभर्सिटी अस्पताल, लुसान र जेनेभाका ठूला अस्पतालमा पठाइएको जनाइएको छ। इटालीले पनि मिलानस्थित गम्भीर जलन उपचार केन्द्र उपलब्ध गराउने जनाएको छ।

प्रहरीका अनुसार नयाँ वर्षको दिन बिहान करिब १:३० बजे ले कोन्स्टेलेसन नामक भीडभाड भएको बारमा आगलागी भएको हो। आगो लागेपछि प्रहरी, दमकल र उद्धारकर्मीहरू तुरुन्तै घटनास्थल पुगेका थिए। न्यूयोर्कका एक पर्यटकले आगोको दृश्य खिच्दै मानिसहरू चिच्याउँदै भागिरहेको देखेको बताएका छन्। बारको क्षमता करिब ३०० जना रहेको र टेरेसमा थप ४० जना अट्ने बताइएको छ। त्यसैले यकिन तथ्यांक आउन समय लाग्ने प्रहरीको भनाइ छ ।  

स्विस प्रहरीका वरिष्ठ अधिकारी फ्रेडरिक गिस्लरले पत्रकारहरूलाई जानकारी दिँदै मृतकको संख्या यकिन हुन नसकेको जानकारी दिँदै घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताए ।  

स्विस राष्ट्रपति गाइ पार्मेलिनले घटनालाई “भयानक त्रासदी” भन्दै शोक व्यक्त गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि स्विट्जरल्यान्डप्रति समवेदना जनाएका छन्।

प्रारम्भिक सूचनाअनुसार मृतकहरू विभिन्न देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ, किनकि क्रान्स–मोन्टाना अन्तर्राष्ट्रिय पर्यटकमाझ निकै लोकप्रिय गन्तव्य हो। 

अभियोजन कार्यालयका अनुसार पीडितहरूको पहिचान गर्न र शव परिवारलाई छिटो हस्तान्तरण गर्न ठूलो स्रोत परिचालन गरिएको छ।  

केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले आतंकवादी हमला भएको हुन सक्ने अनुमान गरेपनि स्वीस प्रहरीले यसलाई खण्डन गरेको छ । प्रारम्भमा कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीका कारण आगो लागेको हुनसक्ने आशंका गरिएको भए पनि अधिकारीहरूले आतङ्कवादी हमला नभएको स्पष्ट पारेका छन्। सुरक्षा अधिकारीहरूका अनुसार आगलागीपछि विस्फोट भएको हो, विस्फोटका कारण आगो लागेको होइन।  

घटनामा १० वटा हेलिकप्टर, ४० एम्बुलेन्स र १५० स्वास्थ्यकर्मी परिचालित भएका थिए। उद्धारकर्मीहरू घटनास्थल पुगेका बेला अवस्था अत्यन्तै अराजक रहेको बताइएको छ। स्थानीय बासिन्दाहरूले रातभरि साइरन र हेलिकप्टरको आवाज सुन्न परेको र धेरै युवाहरू आउने उक्त बारमा यस्तो घटना हुनु अत्यन्तै दुःखद भएको प्रतिक्रिया दिएका छन्। 

प्रकाशित: १७ पुस २०८२ २०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App