युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता संयुक्त राष्ट्रसंघको महासभामा नेपालसहित ४७ देशका नागरिक रूस-युक्रेन युद्धमा प्रयोग भइरहेको दाबी गरेका थिए।
सोही सम्बोधनमा उनले दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरिया पठाइएको विषय सार्वजनिक गरेपछि दक्षिण कोरिया र युक्रेनबिच कूटनीतिक विवाद बढेको छ।
दक्षिण कोरियाले युद्धबन्दीलाई आफ्नो देश पठाइएको विषय सार्वजनिक गरेको भन्दै युक्रेनसँग औपचारिक स्पष्टीकरण र माफी माग्न भनेको हो। सियोलले उक्त स्थानान्तरण गोप्य राख्ने सहमति भएको दाबी गरेको छ। तर युक्रेनले त्यस्तो कुनै सहमति नभएको जिकिर गरेको छ।
जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै युक्रेनले रूसको पक्षमा लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरी दक्षिण कोरिया पठाएको बताएका थिए। उनका अनुसार ती सैनिकलाई सन् २०२५ को जनवरीमा रूसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले पक्राउ गरेको थियो।
सोही सम्बोधनमा जेलेन्स्कीले नेपाल, घाना, ताजिकिस्तान, भारत, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारूस, सुडान र दक्षिण अफ्रिकालगायत ४७ देशका नागरिक रूस पुगेको र उनीहरूलाई युद्धमा प्रयोग गरिएको दाबी गरेका थिए। उनले केही विदेशी नागरिकलाई ‘छल र प्रलोभन’मार्फत रूस पुर्याएर युद्धमा प्रयोग गरिएको बताएका थिए। उनले सम्बन्धित देशका सरकारलाई आफ्ना नागरिकको सुरक्षा गर्न र उनीहरूलाई युद्धमा प्रयोग हुनबाट रोक्न आग्रह समेत गरेका थिए।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्यङले सामाजिक सञ्जाल एक्समा युक्रेनले दुई देशबिच भएको गोपनीयता कायम राख्ने सहमति उल्लंघन गरेको बताएका छन्। उनका अनुसार सैनिक र उनीहरूका परिवारको सुरक्षा तथा कूटनीतिक र मानवीय कारणले स्थानान्तरणको विषय गोप्य राख्ने सहमति भएको थियो।
‘गोपनीयता कायम राख्ने सहमति हुँदाहुँदै युक्रेनी पक्षले कुन परिस्थितिमा यो विषय सार्वजनिक गर्यो भन्ने मलाई थाहा छैन। तर यो निकै दु:खद विषय हो,’ लीले भनेका छन्।
दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयका वरिष्ठ सञ्चार सचिव सेओङ गी-होङका अनुसार युक्रेनले स्थानान्तरण सार्वजनिक गर्दा रूसमा रहेका युक्रेनी युद्धबन्दीसँग ती सैनिकको आदानप्रदान गर्ने अवसर गुमाएको भन्दै आफ्नै देशभित्र आलोचना हुन सक्ने चिन्ता जनाएको थियो। दक्षिण कोरियाले सैनिक र उत्तर कोरियामा रहेका उनीहरूका परिवारको सुरक्षा तथा कूटनीतिक र मानवीय कारणले स्थानान्तरण गोप्य राख्न सहमति जनाएको उनको भनाइ छ।
तर युक्रेनी राष्ट्रपतिको कार्यालयका सहयोगी दिमित्रो लिट्भिनले भने युक्रेनले सैनिकहरूको व्यक्तिगत विवरण सार्वजनिक नगरेको बताए। उनले युक्रेन खुला देश भएकाले सैनिकलाई गोप्य रूपमा दक्षिण कोरिया पठाइएको विषय अस्वाभाविक देखिन सक्ने तर्क गरेका छन्।
युक्रेनले गोपनीयता कायम राख्ने सहमति नगरेको दाबी गरेपछि दुई सरकारबिचको विश्वासमा गम्भीर असर परेको छ। कोरियाली पक्षले यस्तो अस्वीकारले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्धमा समेत क्षति पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।
दक्षिण कोरियाले सोमबार सियोलस्थित युक्रेनी राजदूत एन्ड्री भिएस्किनलाई विदेश मन्त्रालयमा बोलाएर आफ्नो असन्तुष्टि जनाएको थियो।
युक्रेनमा रहेका बेला दुवै सैनिकले आफूहरू दक्षिण कोरियामा बस्न चाहेको बताएका थिए। दक्षिण कोरियाले उनीहरूलाई उत्तर कोरिया नफर्काउन युक्रेनसँग आग्रह गरेको थियो। उत्तर कोरियामा फर्काइए उनीहरूले उत्पीडन भोग्न सक्ने सियोलको चिन्ता थियो।
लामो समयदेखि दक्षिण कोरियाले उत्तर कोरियाबाट भागेर आउने नागरिकलाई स्वीकार गर्दै आर्थिक तथा अन्य सहयोग दिने नीति लिएको छ। सन् १९५०-५३ को कोरियाली युद्धपछि अहिलेसम्म ३४ हजारभन्दा बढी उत्तर कोरियाली दक्षिण कोरिया पुगेका छन्। तीमध्ये अधिकांश नागरिक छन्। उत्तर कोरियाली सैनिकको दक्षिणतर्फको पलायन दुर्लभ मानिन्छ।
जेलेन्स्कीले ती दुई सैनिकमध्ये एकले पक्राउ पर्न लागेको थाहा पाएपछि आत्महत्या गर्न खोजेको बताएका थिए। उनले उक्त घटनालाई उत्तर कोरियामा मानिसलाई कसरी तयार पारिन्छ भन्ने उदाहरणका रूपमा प्रस्तुत गर्न खोजेका थिए।
दक्षिण कोरियाका केही विज्ञले जेलेन्स्कीले रूसको पक्षमा उत्तर कोरियाली सैनिकको संलग्नता सार्वजनिक गरेर पश्चिमी देशबाट थप सहयोग जुटाउने प्रयास गरेको हुन सक्ने बताएका छन्। तर सियोलले यस्तो विषय सार्वजनिक हुँदा उत्तर कोरियाले सैनिकका परिवारमाथि प्रतिशोध लिन सक्ने र उत्तर कोरियासँग संवाद अघि बढाउने प्रयासमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको छ।
दक्षिण कोरियाले सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेदेखि युक्रेनलाई मानवीय तथा अन्य सहयोग दिँदै आएको छ। उसले रूसमाथि लगाइएका आर्थिक प्रतिबन्धमा पनि साथ दिएको छ। तर युद्धमा प्रत्यक्ष संलग्न देशलाई हतियार नदिने नीतिका कारण दक्षिण कोरियाले युक्रेनलाई प्रत्यक्ष घातक सैन्य हतियार उपलब्ध गराएको छैन।
अर्कोतिर, उत्तर कोरिया र रूसले सन् २०२५ को अप्रिलमा आफ्ना सैनिकले रूसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाविरुद्ध मिलेर लडेको पुष्टि गरेका थिए। दक्षिण कोरिया, अमेरिका र अन्य देशका अधिकारीले उत्तर कोरियाले रूसलाई तोप, गोलाबारुद र क्षेप्यास्त्र उपलब्ध गराएको बताएका छन्।
दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाले सन् २०२४ देखि रूसको सहयोगका लागि करिब १४ हजारदेखि १५ हजार सैनिक पठाएको अनुमान छ। दक्षिण कोरिया, युक्रेन र पश्चिमी देशका अधिकारीका अनुसार तीमध्ये छ हजारभन्दा बढी सैनिक मारिएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: १३ आश्विन २०८३ ०६:४४ मंगलबार



-600x400.jpg)

