१५ भाद्र २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा भीषण बाढीको वितण्डा : एकको मृत्यु, १५ सम्पर्कविहीन, ६२ को उद्धार

अमेरिकाको एरिजोना राज्यमा रहेको ग्रान्ड क्यान्यन राष्ट्रिय निकुञ्जमा आकस्मिक आएको भीषण बाढीमा परेर एक जनाको मृत्यु भएको छ।

जानकारी अनुसार कम्तीमा १५ जना सम्पर्कविहीन रहेको अधिकारीहरूले बताएका छन्। बाढीपछि ६२ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

स्थानीय समय अनुसार शनिबार दिउँसो ब्राइट एन्जल क्यान्यन र फ्यान्टम रान्च क्षेत्रमा अचानक आएको बाढीले पदयात्रा मार्ग, पुल, क्याम्पिङ क्षेत्र र अन्य पूर्वाधारमा ठुलो क्षति पुर्‍याएको राष्ट्रिय निकुञ्ज सेवाले जनाएको छ। ब्राइट एन्जल क्रिकमाथिका लगभग सबै पैदल पुल बगेपछि पदयात्रीका लागि क्रिक पार गर्ने बाटो बन्द भएको छ।

बाढीपछि सुरुमा २० जनाभन्दा बढी मानिस बेपत्ता हुन सक्ने अनुमान गरिएको थियो। पछिल्लो विवरणमा भने कम्तीमा १५ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूको खोजीका लागि जमिन र हेलिकप्टरबाट खोजी भइरहेको छ। पार्क सेवाले प्रभावित क्षेत्रमा पदयात्रा वा क्याम्पिङ गरेका व्यक्तिबारे जानकारी भए खोजी टोलीलाई खबर गर्न आग्रह गरेको छ।

बाढीपछि कोलोराडो नदीको किनारमा क्रिस्टल र्‍यापिड्स नजिकै ४६ वर्षीय एक पुरुषको शव फेला पारिएको हो। राष्ट्रिय निकुञ्ज सेवाले उनको पहिचान सार्वजनिक गरेको छैन। उनको मृत्यु बेपत्ता व्यक्तिहरूको खोजीसँग सम्बन्धित हो वा होइन भन्ने पनि स्पष्ट गरिएको छैन।

यसैबिच, टेक्सासका काइरोप्रैक्टर जोन गिउस्टी र उनीसँगै पदयात्रामा रहेको समूह पनि सम्पर्कविहीन भएको उनकी श्रीमतीले बताएकी छन्। फक्स न्युजका अनुसार उनी शनिबार ब्राइट एन्जल क्यान्यन र फ्यान्टम रान्च क्षेत्रमा पदयात्रा तथा क्याम्पिङ गरिरहेका थिए। तर राष्ट्रिय निकुञ्ज सेवाले गिउस्टीको नामलाई आधिकारिक रूपमा बेपत्ता व्यक्तिको सूचीमा पुष्टि गरेको छैन।

बाढीले पर्यटकका लागि महत्त्वपूर्ण पानी आपूर्ति गर्ने पाइपलाइनमा समेत ठुलो क्षति पुर्‍याएको छ। पानीको आपूर्ति सीमित भएपछि आइतबारदेखि साउथ रिम क्षेत्रमा पानी संरक्षणका कडा उपाय लागू गरिएको छ। केही होटलमा रातभर बस्नसमेत रोक लगाइएको छ।

अधिकारीहरूले आगामी दिनमा पनि भारी वर्षा र मेघ गर्जनको सम्भावना रहेको बताएका छन्। थप वर्षाले फेरि आकस्मिक बाढी, भग्नावशेषको बहाव, पहिरो र चट्टान खस्ने जोखिम बढाउन सक्ने भएकाले प्रभावित पदमार्ग र क्याम्पिङ क्षेत्र बन्द राखिएको छ। खोज तथा उद्धार अभियानसँगै पार्कको क्षतिको मूल्यांकन पनि भइरहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

यो पनि पढ्नुहोस्

अमेरिकामा भीषण बाढी : १५ जना सम्पर्कविहीन, पाइपलाइन बन्द, पुल पनि बगे

प्रकाशित: १५ भाद्र २०८३ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App