जिल्ला सदरमुकाम धुन्चेमा मोबाइल फोन चार्जका लागि जेनेरेटर ल्याइएको छ। भोटेकोशी नदीमा यही भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत पाँच दिनदेखि जिल्लाभर विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध छ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले जेनेरेटर यहाँ ल्याएको हो। विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयवासीसहित धुन्चेमा रहेका बाढी पीडित र तीर्थालुहरू, आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद हुनुपरेको थियो। यसका लागि नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगङ्गा आँखा केन्द्रले संयुक्त पहल गरेका थिए। सदरमुकाम धुन्चेमा जेनेरेटर ल्याइएसंगै निःशुल्क मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ।
अहिले १०० भन्दा बढीले एकसाथ मोबाइल चार्ज गरिरहेको नेपाल रेडक्रसले जनाएको छ। यसबाट टाढा रहेका आफन्तलाई ‘म सुरक्षित छु’ भन्ने सन्देश पठाउन सहज बनेको छ। सदरमुकाममा जेनेरेटरमार्फत मोबाइल चार्ज गर्न पाउँदा स्थानीयवासी तथा टाढा–टाढाबाट आएका सेवाग्राहीलाई राहत मिलेको छ।
चार्ज गर्ने सुविधा पाएपछि जिल्लावासीले आफ्ना आफन्तहरूसँग पुनः सम्पर्क स्थापित गर्न सफल भएका छन्। एकजना बाढी प्रभावितले भने, 'फोनकलले टुटेको आशालाई जोडेको छ, चिन्ताले भरिएका मनलाई सान्त्वना दिएको छ।'
बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटिरहेको र चाँडै सेवा सुचारु गराउन पहल भइरहेको जनाइएको छ।
प्रकाशित: १५ भाद्र २०८३ १३:४९ सोमबार





