१० भाद्र २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी विमान दक्षिण कोरियाली हवाई रक्षा क्षेत्रमा

दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा रुसी सैन्य विमान प्रवेश गरेपछि निगरानीका लागि लडाकू विमान परिचालन गरेको जनाएको छ। केही सातामै दोस्रोपटक यस्तो घटना भएपछि सियोलले हवाई सुरक्षामा सतर्कता बढाएको हो। 

दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार बुधबार केही रुसी विमान पूर्वी सागर भनिने जापान सागर आसपासको हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए। सेनाले ती विमान प्रवेश गर्नुअघि नै पहिचान गरी सम्भावित परिस्थितिका लागि लडाकू विमान परिचालन गरेको जनाएको छ। 

रुसी विमानले दक्षिण कोरियाको सार्वभौम हवाई क्षेत्र भने उल्लङ्घन नगरेको बताइएको छ। हवाई रक्षा पहिचान क्षेत्र सार्वभौम हवाई क्षेत्र नभई विदेशी विमानको गतिविधि पहिचान र निगरानीका लागि तोकिएको अतिरिक्त क्षेत्र हो। त्यहाँ प्रवेश गर्नुअघि सम्बन्धित देशलाई जानकारी गराउने अभ्यास भए पनि अन्तर्राष्ट्रिय कानूनले त्यसलाई अनिवार्य गरेको छैन। 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि दक्षिण कोरिया पश्चिमी प्रतिबन्धमा सहभागी भएको तथा मस्कोले उत्तर कोरियासँग सैन्य सम्बन्ध विस्तार गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। 

यसअघि जुनको अन्त्यमा १० भन्दा बढी चिनियाँ र रुसी सैन्य विमान पनि दक्षिण कोरियाको हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए। चीन र रुसले त्यसलाई जापान सागर, पूर्वी चीन सागर र पश्चिमी प्रशान्त महासागरमा गरिएको ‘रणनीतिक हवाई गस्ती’ भनेका थिए। दक्षिण कोरियाले भने दुवै देशसमक्ष विरोध जनाउँदै यस्ता घटना दोहोरिन नदिन आग्रह गरेको थियो।   

प्रकाशित: १० भाद्र २०८३ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App