२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुस ‘कागजी बाघ’, युक्रेनले आफ्नो भूभाग फिर्ता लिन सक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनबारे आफ्नो अडानमा परिवर्तन गर्दै युक्रेनले रुसबाट आफ्नो सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने बताएका छन्। 

उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गर्दै युरोप र नेटोको समर्थनका कारण रुसको अर्थतन्त्रमा परेको दबाबले युक्रेनलाई यो सफलता दिलाउन सक्ने उल्लेख गरेका हुन्। 

ट्रम्पले रुसलाई ‘कागजी बाघ’ को संज्ञा दिएका छन्। उनले भने, ‘पुटिन र रुस ठूलो आर्थिक समस्यामा छन् र युक्रेनले कारबाही गर्ने समय आएको छ।’ 

ट्रम्पको यो भनाइ न्यूयोर्कमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि आएको हो। ट्रम्पले बारम्बार युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन्। यसअघि उनले युद्धविराम वा सम्झौताका लागि युक्रेन केही भूभाग त्याग गर्न तयार हुनुपर्ने सुझाएका थिए।

युक्रेनी राष्ट्रपति जेलेन्स्की भने युक्रेन आफ्नो क्षेत्र त्याग्ने छैन भनेर दोहोर्‍याउँदै आएका छन्।  

जेलेन्स्कीले ट्रम्पको नयाँ अडानको प्रशंसा गर्दै अमेरिका युद्धको अन्त्यसम्म युक्रेनसँगै रहने संकेत पाएको बताए। उनले युद्धपछि अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टीसहित थप हतियार, हवाई रक्षा प्रणाली र ड्रोनहरू प्रदान गर्न सक्ने आशा व्यक्त गरेका छन्। 

ट्रम्पले संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा नेटो राष्ट्रहरूलाई रुसी विमानहरूले हवाई क्षेत्र उल्लङ्घन गरेमा जवाफ पाउनसक्ने बताएका थिए। हालै रुसी विमानले इस्टोनिया, पोल्याण्ड र रोमानियाको हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लागेको थियो। एजेन्सी

प्रकाशित: ८ आश्विन २०८२ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App