२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्ध अन्त्य नगरी क्षेत्रीय सुरक्षा सम्भव छैनः जर्मनी

जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले होर्मुज क्षेत्रमा युरोपेली सङ्घको नौसैनिक अभियान ‘आस्पिदेस’ विस्तार गर्ने विषयमा शङ्का व्यक्त गरेका छन्।

जर्मन सार्वजनिक प्रसारण संस्थासँगको अन्तर्वार्तामा उनले उक्त अभियानले क्षेत्रमा थप सुरक्षा सुनिश्चित गर्न सक्छ कि सक्दैन भन्ने विषयमा आफू ‘अत्यन्त शंकित’ रहेको बताए। उनका अनुसार लाल सागर क्षेत्रमा तैनाथ गरिएको उक्त अभियानले अपेक्षित प्रभावकारिता देखाउन सकेको छैन।

वाडेफुलले क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न सैन्य द्वन्द्वलाई ‘मूल रूपमा समाधान’ गर्नु आवश्यक रहेको धारणा राखे। युरोपले सधैं समुद्री मार्गहरूको सुरक्षाका लागि रचनात्मक सहयोग प्रदान गर्दै आएको उल्लेख गर्दै उनले तत्काल यस्तो आवश्यकता नदेखिएको र जर्मनीले यसमा सहभागिता जनाउनुपर्ने स्पष्ट आधार पनि हालसम्म नदेखिएको बताए।

उनले भने, 'हामी अमेरिका र इजरायलसँग अनुरोध गर्दछौं कि उनीहरूले हालसम्म कुन ठोस उद्देश्यहरू अघि बढाइरहेका छन् भन्नेबारे जानकारी गराइयोस र यो युद्ध कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा हामीसँग छलफल गरियोस्।'

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न शहरहरूमा संयुक्त आक्रमण गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमाण्डर तथा एक हजार तीन सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताइएको छ।

त्यसपछि इरानले मध्यपूर्व क्षेत्रमा रहेका इजरायल तथा अमेरिकी सैन्य आधारहरू र सम्पत्तिलाई लक्षित गर्दै क्षेप्यास्त्र र मानवरहित विमानमार्फत आक्रमणको श्रृङ्खला सञ्चालन गरेको जनाएको छ।

आक्रमण तेस्रो हप्तामा प्रवेश गरिरहँदा र विश्वको करिब पाँचौं भाग तेल आपूर्ति हुने होर्मुज क्षेत्र प्रभावकारी रूपमा बन्द भएपछि विश्व ऊर्जा बजार तथा आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्न थालेको बताइएको छ।

प्रकाशित: २ चैत्र २०८२ १८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App