चीनको कम्युनिस्ट पार्टीले पूर्वपोलिटब्युरो सदस्य तथा सिनजियाङका पूर्व पार्टी प्रमुख मा झिङरुईलाई पार्टीबाट निष्कासन गरेको छ। भ्रष्टाचारको अनुसन्धानपछि उनलाई सार्वजनिक पदबाट समेत बर्खास्त गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
६७ वर्षीय मा चीनको नयाँ पुस्ताको क्यारियर रकेट कार्यक्रमको नेतृत्व गरिसकेका व्यक्ति हुन्। उनी सन् २०२२ मा गठित वर्तमान पोलिटब्युरोका तेस्रो सदस्य हुन्, जो अनुसन्धानमा परेका छन्। यस्तो घटना दशकौँपछि देखिएको हो।
केन्द्रीय अनुशासन निरीक्षण आयोग (सीसीडीआई) को प्रतिवेदनअनुसार माले ‘आफ्ना आदर्श र विश्वास गुमाएको’, ‘राजनीतिक दृढ विश्वास त्यागेको’ तथा ‘पार्टीको अनुशासन र नियमको गम्भीर उल्लंघन गरेको’ पाइएको छ। उनीमाथि अनुचित रुपमा उपहार र पैसा स्वीकार गरेको, आफन्तलाई कम मूल्यमा घर खरिद गर्न सघाएको र ‘शक्ति र पैसाको आडमा यौन कारोबार’ मा संलग्न रहेको आरोप छ।
सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार माले आफ्नो पद र शक्तिको प्रयोग व्यक्तिगत फाइदाका लागि मात्र गरेका थिए। अनुसन्धानले उनले व्यापारिक काम, ठेक्कापट्टा र जागिरमा बढुवा गराउन आफ्नो अधिकारको दुरुपयोग गरेको पुष्टि गरेको छ।
अनुसन्धानका क्रममा माले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरू स्विकार्न नमानेको पाइएको छ। साथै, राष्ट्रपति एवं पार्टी महासचिव सी जिनपिङको भ्रष्टाचार विरोधी अभियानपछि पनि उनले भ्रष्ट गतिविधि जारी राखेको खुलेको छ। उनको आचरण ‘अत्यन्तै गम्भीर र नराम्रो प्रभाव पार्ने’ खालको रहेको सीसीडीआईको निष्कर्ष छ। अब उनको अवैध आर्जन जफत गरिनेछ र थप कानुनी कारबाहीका लागि मुद्दा अदालतमा पठाइनेछ।
अन्तरिक्ष विशेषज्ञका रूपमा चिनिने माले सन् २००७ देखि २०१३ सम्म चाइना एयरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेसनको महाप्रबन्धकका रूपमा काम गरेका थिए। यसअघि उनले ग्वाङ्डोङको गभर्नर र शेन्जेनको पार्टी सचिवको जिम्मेवारी पनि सम्हालेका थिए। उनी सन् २०२१ मा सिनजियाङको पार्टी प्रमुख बनेका थिए।
मा र अन्य दुई सैन्य नेतालाई हटाएपछि २४ सदस्यीय पोलिटब्युरोको संख्या घटेर २१ मा सीमित भएको छ। हालैका दिनमा चीनले उच्च पदस्थ अधिकारीहरूमाथि भ्रष्टाचारविरुद्ध कडा कदम चालिरहेको छ। एजेन्सी
प्रकाशित: ३० असार २०८३ १७:५६ मंगलबार





