पाकिस्तानको विदेश मन्त्रालयले ‘वर्तमान सरकारअन्तर्गत कट्टर हिन्दुत्व विचारधाराको आडमा भारत राज्य प्रायोजित आतंकवादलाई प्रवर्द्धन गर्ने प्रमुख देश बनेको’ आरोप लगाएको छ। पाकिस्तानको यो वक्तव्य भारतीय नागरिक निखिल गुप्तासम्बन्धी प्रश्नको जवाफमा आएको हो।
बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा भनिएको थियो, ‘भारतीय नागरिक निखिल गुप्तालाई अमेरिकामा दुई अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्रको आरोपमा पक्राउ गरिएको छ। विश्वभर भारतका गतिविधिहरू उजागर भइरहेका छन्, यसबारे तपाईंको प्रतिक्रिया के हो?’
यस प्रश्नको जवाफमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले भने, ‘हामीले यस विषयसँग सम्बन्धित प्रतिवेदनहरू हेरेका छौँ। विदेशी भूमिमा भएका हत्यासम्बन्धी अभियानमा भारतको संलग्नतालाई पाकिस्तानले निरन्तर रूपमा उजागर गर्दै आएको छ। यो केवल पाकिस्तानमै सीमित छैन, अमेरिका लगायत धेरै देशहरूमा यस्ता गतिविधिहरू भइरहेको दाबी गरिएको छ।’
उनले थपे, ‘पाकिस्तानले भारतद्वारा प्रायोजित आतंकवाद र सीमा पारबाट पाकिस्तानभित्र सञ्चालन हुने आतंकवादी समूहहरूसम्बन्धी ठोस प्रमाणहरू पनि साझा गरेको छ।’
प्रवक्ता अन्द्राबीले भने, ‘वर्तमान सरकारअन्तर्गत कट्टर हिन्दुत्व विचारधाराको आडमा भारत राज्य प्रायोजित आतंकवादलाई प्रवद्र्धन गर्ने प्रमुख देश बनेको छ, जुन चिन्ताको विषय हो। हामी यस विषयमा निगरानी गरिरहेका छौँ।’
गत हप्ता भारतीय नागरिक निखिल गुप्ताले न्यूयोर्कमा सिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नूको सन् २०२३ मा हत्या गर्ने असफल षड्यन्त्र रचेको आरोपमा दोष स्वीकार गरेका थिए।
५४ वर्षीय निखिल गुप्ताले म्यानह्याटनस्थित संघीय अदालतमा सुपारी दिएर हत्या, हत्या षड्यन्त्र र मनी लन्डरिङ षड्यन्त्रका आरोपहरू स्वीकार गरेका थिए। एजेन्सी
प्रकाशित: ८ फाल्गुन २०८२ ०८:३१ शुक्रबार





