नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिनलाई आफ्नो जीवनको दुईवटा विशेष संयोगको रूपमा व्याख्या गरेका छन्।
मतदानपछि सामाजिक सञ्जालमा लेख्दै उनले फागुन २१ गते आफूले मृत्युको मुखबाट पुनर्जीवन पाएको दिनका रूपमा स्मरण गरेका हुन्।
अध्यक्ष ओलीले आजकै दिन ६ वर्षअघि आफ्नो दोस्रोपटक मिर्गौला प्रत्यारोपण भएको उल्लेख गरेका छन्। उनले आजको दिन सुखानी सहिद दिवस पनि परेको भन्दै यी दुवै घटनालाई मृत्युको नजिक पुगेर नयाँ जीवन पाएको क्षणका रूपमा चित्रण गरेका छन्।
झापा आन्दोलनको स्मरण गर्दै उनले भनेका छन्, ‘त्यही क्रममा हामीलाई जेल हालिएको थियो। झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो।’
ओलीले आफू पनि जेल सार्ने बहानामा हत्या गरिन लाग्दा मृत्युको मुखबाट फर्केर आएको र १४ वर्ष कठोर कारावास बिताएको विगत कोट्याएका छन्।
उनले देशमा लोकतन्त्र ल्याउन बलिदान दिने अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै फागुन २१ कहिल्यै नबिर्सने दिन भएको बताएका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १४:४८ बिहीबार



-600x400.jpg)

