झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिएको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन्। रुकुमबाट नागरिकता लिइसकेपछि झुटो विवरण पेश गरेर कास्कीबाट पुनः नागरिकता लिएको आरोपमा हिराधन पुन पक्राउ परेका हुन्।
पुनले नाम, थर, जन्ममिति, जन्मस्थान, स्थायी ठेगाना र बाबुको नामसमेत झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट २०५८ साल वैशाख २० गते पुनः नागरिकता लिएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।
उनका अनुसार रुकुम जिल्लाको साविक कोल गाविस वडा नम्बर–१ निवासी जितबहादुर पुनका छोरा हिराधन पुनले रुकुमबाट २०४७ साल फागुन २८ गते नागरिकता लिइसकेको अवस्थामा पुनः झुटो विवरण पेश गरी कास्कीबाट नागरिकता लिएको खुलेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो।
पक्राउ परेका पुनलाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर थप अनुसन्धान भइरहेको बरालले बताए। उनीमाथि दोहोरो नागरिकता लिएको विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।
प्रकाशित: ३ चैत्र २०८२ १९:४८ मंगलबार





