अफगानिस्तानको सीमा क्षेत्रमा पाकिस्तानी सेनाले बमबारी गरेपछि दुई देशबिच तनाव चुलिएको छ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान सीमा उल्लंघन गरेको आरोप लगाएका छन्। उनले पाकिस्तानी आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ व्यक्ति मारिएको र घाइते भएको आरोप लगाएका हुन्।
मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हिजो (शनिबार) राति पाकिस्तानी सेनाले नान्गारहार र पक्तिका प्रान्तमा हाम्रा निर्दोष नागरिकहरूमाथि बमबारी गरेको थियो, जसमा महिला र बालबालिका सहित दर्जनौं मानिसहरू मारिएका र घाइते भए।’ उनले अगाडि भनेका छन्, ‘पाकिस्तानी जनरलहरूले यस्ता अपराधहरू मार्फत आफ्नो देशको सुरक्षा कमजोरीहरूको क्षतिपूर्ति गरिरहेका छन्।’
उता, पाकिस्तानले भने गोप्य जानकारीका आधारमा सीमा क्षेत्रका ‘सात आतंकवादी लुक्ने ठाउँ र शिविरहरूलाई लक्षित’ आक्रमण गरेको दाबी गरेको छ। पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार ती आक्रमणहरू पाकिस्तानी तालिबान र तिनका सहयोगी समूहहरू ‘फितना अल–खवारीज’ र ‘इस्लामिक स्टेट अफ खोरासान प्रान्त’ विरुद्ध लक्षित थिए।
पाकिस्तानले आफ्नो देशमा हालै भएका आत्मघाती हमलाहरूको बदला लिन यो कदम चालेको जिकिर गरेको छ। जारी बयानमा भनिएको छ, ‘पाकिस्तानसँग यी आतंकवादी हमलाहरू खवारीज समूहले अफगानिस्तानमा आधारित नेतृत्व र ह्यान्डलरहरूको निर्देशनमा गरेको बलियो प्रमाण छ।’ पाकिस्तानले अफगान तालिबानलाई पटक–पटक आतंकवादीहरू विरुद्ध ठोस कदम चाल्न आग्रह गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गर्दै आएको छ।
साथै, उसले आफ्नो भूमि पाकिस्तानविरुद्ध प्रयोग हुन नदिन तालिबान सरकारसँग ग्यारेन्टी समेत माग गर्दै आएको छ। बीबीसी
प्रकाशित: १० फाल्गुन २०८२ १०:३७ आइतबार





