३१ असार २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान युद्धको विरोध : अमेरिकी सिनेटमा रोकियो १० खर्ब डलरको रक्षा बजेट

अमेरिकी सिनेटका डेमोक्र्याट सदस्यहरूले मंगलबार १० खर्ब (१ ट्रिलियन) डलरको रक्षा विधेयकलाई अघि बढ्न दिएनन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध गरिरहेको युद्धको विरोधमा उनीहरूले यो कदम चालेका हुन्। उक्त विधेयकमा पेन्टागनको खर्च बढाउने र सेनाको तलब वृद्धि गर्ने योजना समावेश थियो। डेमोक्र्याटिक नेता चक शुमरले विधेयकको विपक्षमा उभिने घोषणा गर्दै, युद्ध सुरु भएको पाँच महिना भइसक्दा पनि अन्त्यको कुनै संकेत नदेखिएकाले यसलाई समर्थन गर्न नसकिने बताए। मतदानमा ५० सदस्यले विपक्षमा र ४६ सदस्यले पक्षमा मत दिएपछि विधेयक तत्कालका लागि रोकिएको छ।

मतदानअघि शुमरले भने, ‘इरानमा भइरहेको गैरजिम्मेवारपूर्ण कामका लागि यो विधेयक अनुमति पत्र बन्न सक्दैन।’ उनले थपे, ‘डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई यस्तो युद्धमा झोस्न मिल्दैन, जसको अन्त्य कहिले हुन्छ र यो किन लडिँदैछ भन्ने कुराको जवाफ उनीसँग छैन।’

ह्वाइट हाउसले इरानमा फेरि बमबारी सुरु गरेको जानकारी गराएको भोलिपल्टै सिनेटमा यो मतदान भएको हो। लेबनानमा चलिरहेको सैन्य आक्रमण र इरानमाथिको बमबारीले शान्ति प्रयासलाई थप कमजोर बनाएको छ। साथै, यस कदमले मध्यावधि चुनावअघि ग्यास (इन्धन) को भाउ बढ्ने लगायतका आर्थिक समस्या निम्त्याउने चिन्ता व्यक्त गरिएको छ।

सिनेटमा रिपब्लिकन नेता जोन थुनले भने, ‘हामीले सेनालाई मिसन पूरा गर्न आवश्यक सबै कुरा उपलब्ध गराउनुपर्छ।’ तर, डेमोक्र्याटहरूले पेन्टागनको खर्च १.५ ट्रिलियन (१५ खर्ब) डलर पुर्‍याउने सरकारी योजनाको पनि कडा विरोध गरेका छन्।

यो विधेयकलाई लिएर सांसदहरूले रक्षामन्त्री पीट हेगसेथसँग पनि जवाफ मागेका छन्। इरानमा भएको स्कुल आक्रमण लगायतका महत्त्वपूर्ण घटनाको रिपोर्ट नदिँदासम्म हेगसेथको भ्रमण खर्चमा रोक लगाउने चेतावनी उनीहरूले दिएका छन्।

सेनामै काम गरिसकेकी सिनेटर ट्यामी डकवर्थले युद्ध रोक्ने ठोस योजना नआएसम्म आफूले यस्तो बजेटको विरोध गरिरहने बताइन्। उनले भनिन्, ‘नियन्त्रण बाहिरको सैन्य अपरेशनमा मात्र पैसा खन्याउनु रणनीति होइन। यो त सधैं चलिरहने युद्ध निम्त्याउने काम मात्र हो।’ एजेन्सी 

प्रकाशित: ३१ असार २०८३ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App