३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अपरेसन ‘एपिक फ्युरी’: इरानमा सत्ता परिवर्तन ग्रेटर इजरायलको सपना!

शनिबारको एक घटनाले मध्यपूर्वलाई नयाँ द्वन्द्वमा धकेलेको छ । उक्त दिन बिहान अमेरिका र इजरायलले इरानमाथि जे गरे, त्यसले विश्वको शक्ति सन्तुलन डगमगाइदिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध ‘एपिक फ्युरी’ नामक ठुलो सैन्य अभियान सुरु गरेका थिए, जसमा इजरायलको पूर्ण सहयोग थियो। यस कारबाहीलाई इजरायली पक्षले ‘रोअरिङ लायन’ नाम दिएको छ। आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका छन्।

यो घटना एउटा सैन्य कारबाही मात्र होइन, इरानको इस्लामिक गणतन्त्रलाई सत्ताच्युत गर्ने, देशलाई जातीय आधारमा विभाजन गर्ने र इजरायलको ‘ग्रेटर इजरायल’ अर्थात् बाइबलीय भूमि विस्तारको सपनालाई साकार पार्ने लामो समयदेखिको गुप्त रणनीतिको हिस्सा हो भन्ने चर्चा भइरहेको छ । यो आक्रमण तेहरानसँगको असफल आणविक वार्ता भइरहेको समयमा भएको हो।

अमेरिकाले यसलाई ‘आवश्यक रक्षात्मक कदम’ भनेको छ भने इरानले ‘अकारण र गैरकानुनी आक्रमण’को संज्ञा दिएको छ  तर जानकारहरू यो आक्रमणले अमेरिका र इजरायलक तीन मुख्य लक्ष्यलाई स्पष्ट रूपमा उजागर गरेको विश्वास गर्छन्। इरानी धर्मगुरूहरूको सत्ता परिवर्तन, इरानलाई कुर्द, बलोच, अजरबैजानी र अरब क्षेत्रमा विभाजन गर्ने र अन्ततः निल नदीदेखि युफ्रेटिस नदीसम्म फैलिएको ‘ग्रेटर इजरायल’ को निर्माण गर्ने चर्चा भइरहेको छ।

सर्वोच्च नेताको मृत्युपछि ४० दिने शोक

इजरायल र अमेरिकाले शनिबार गरेको हमलामा इरानका सर्वोच्च नेता खामेनी तेहरानस्थित आफ्नै निवासमा मारिए। अहिले इरानमा अली लारिजानी सम्मिलित तीन सदस्यीय परिषद्ले शासन चलाइरहेको छ।

इरान ४० दिने शोकमा डुबेको छ। इजरायल र अमेरिकाले इरानका आणविक केन्द्र र सैन्य मुख्यालयसहित एक हजारभन्दा बढी स्थानमा बमबारी गरेका छन्। जवाफमा इरानले दुबई, कुवेत र साउदी अरबका अमेरिकी सैन्य अखडा र तेल प्रशोधन केन्द्रहरूमा मिसाइल प्रहार गरेको छ। कुवेतमा तीन वटा अमेरिकी लडाकु विमान खसालिए पनि चालक दलका सदस्यहरू सुरक्षित छन्। खामेनीको मृत्युको बदला लिन हेजबुल्लाहले इजरायलको हाइफा सहरमा रकेट प्रहार गरेपछि इजरायलले बेरुतमा भीषण आक्रमण सुरु गरेको छ।

बेरुत र दक्षिणी लेबनानमा भएका इजरायली आक्रमणमा हालसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको छ र सयौं घाइते भएका छन्। यस युद्धमा हालसम्म चार अमेरिकी सैनिक मारिएको आधिकारिक पुष्टि भएको छ। युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन्। इरानका प्रमुख सहरहरूमा अस्पतालहरू घाइतेहरूले भरिएका छन्। चिकित्सा सामग्रीको चरम अभाव देखिएको छ।

इरानी मिसाइल र ड्रोनहरूले दुबई र अबुधाबीका औद्योगिक क्षेत्रहरूमा प्रहार गर्दा एक नेपाली तीन जना मारिएका छन्। ४८ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्। कुवेतमा रहेको अमेरिकी सैन्य अखडा अल उदेद एयर बेसमा भएको आक्रमण र ‘फ्रेन्डली फायर’का घटनाहरूले गर्दा त्यहाँ सुरक्षाकर्मी र कर्मचारीहरू घाइते भएका छन्।

साउदीको रास तनुरा तेल प्रशोधन केन्द्रमा भएको मिसाइल प्रहारबाट केही कामदार घाइते भएका छन् भने पूर्वाधारमा ठुलो क्षति पुगेको छ। स्ट्रेट अफ होर्मुज प्रभावित भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य अकासिएको छ। खाडी क्षेत्रमा रहेका केही व्यापारिक जहाजहरूमा पनि क्षति पुगेको छ, जसमा रहेका चालक दलका सदस्यहरू हताहत भएको आशंका गरिएको छ।

मुख्य लक्ष्य सत्ता परिवर्तन

यो अपरेसनको मुख्य लक्ष्य सत्ता परिवर्तन हो। ट्रम्पले इरानी जनतालाई भिडियो सन्देशमा भनेका छन्, ‘देश अब तपाईंको हातमा छ। यो तपाईंका लागि एक मात्र मौका हो। आइआरजिसीका सदस्यहरू आत्मसमर्पण गर्नुहोस् वा मृत्यु सामना गर्नुहोस्।’

उता नेतान्याहुले पनि इरानी जनतालाई ‘निरंकुशताको जुवा त्याग्न’ आग्रह गरेका छन्। इरानमा अहिले अस्थायी नेतृत्व परिषद् गठन भएको छ, जसमा राष्ट्रपति मसुद पेजेस्कियान, न्यायपालिका प्रमुख गुलाम–हुसैन मोहसेनी–एजेई र अयातोल्लाह अलिरेजा अराफी छन्। एसेम्बली अफ एक्सपट्र्सले नयाँ सर्वोच्च नेता छान्नेछ। सम्भावित उम्मेदवारहरूमा गुलाम–हुसैन मोहसेनी–एजेई, अली असगर हेजाजी र हसन खोमेनी छन् तर आइआरजिसी र बासिज फोर्सले सत्ता कब्जा गर्न सक्छन्। अहिले इरानको अन्तरिम नेतृत्व परिषद्को सदस्यमा अयातोल्लाह अलिरेजा अराफीलाई नियुक्त गरिएको छ।

इरानको विभाजन

सत्ता परिवर्तनसँगै इरानलाई विभाजन गर्ने योजना पनि सक्रिय रूपमा उठेको चर्चा छ। इरानमा फारसी बहुमत छ तर कुर्द, बलोच, अजरबैजानी र अरब अल्पसंख्यक छन्। यिनीहरूमा असन्तुष्टि छ। अमेरिका–इजरायलले यी समूहहरूलाई उक्साएर स्वतन्त्र राज्य बनाउने रणनीतिमा समेत भएको आरोप लागिरहेको छ।

हालै इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले इजरायलले आफ्नो अस्तित्व रक्षाका लागि ठुला देशहरूलाई विभाजित गर्ने सहारा लिएको दाबी गरेका थिए। इजरायली प्रधानमन्त्रीले पनि आफ्नो एक सन्देशमा इरानमा सक्रिय विभिन्न समूहलाई एकताबद्ध भएर आफ्नो स्वतन्त्रताका लागि लड्न आह्वान गरेका थिए।

यो ‘यिनोन प्लान’ १९८२ को विस्तार हो, जसमा अरब र मुस्लिम देशहरूलाई जातीय आधारमा टुक्र्याउने उल्लेख छ। इरानको विभाजनले कुर्दिस्तानलाई स्वतन्त्र बनाउन सक्छ, जसले टर्की, इराक र सिरियालाई प्रभावित गर्छ। बलोच क्षेत्रमा पाकिस्तान र अफगानिस्तानसँग सीमा जोडिन्छ। दक्षिणी अरब क्षेत्रमा तेल सम्पदा छ। विभाजन भयो भने इरान कमजोर हुन्छ, जसले अमेरिका र इजरायललाई फाइदा दिन्छ तर यसले गृहयुद्ध र शरणार्थी संकट निम्त्याउन सक्छ । टर्की कुर्द विद्रोहको डरले चिन्तित छ। रुस र चीनले इरानको पक्ष लिएर अमेरिका र इजरायलको विरोध गरेका छन्।

अन्तिम लक्ष्य ‘ग्रेटर इजरायल’

यो अपरेसनको अन्तिम लक्ष्य ‘ग्रेटर इजरायल’समेत रहेको चर्चा छ। यो बाइबलीय अवधारणा हो, जसअनुसार इजरायलको भूमि निलदेखि युफ्रेटिससम्म फैलिन्छ। यसमा जोर्डन, लेबनान, सिरिया, इराक र साउदीका भागहरू समावेश छन्। जियोनिस्ट नेता थियोडोर हर्जल र वर्तमान प्रधानमन्त्री नेतान्याहुले पनि पटकपटक यस्तो विस्तारवादी सोचलाई समर्थन गर्दै आएका छन्।

इरान कमजोर भएपछि हमास, हेजबुल्लाह र सिरियालाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्छु भन्ने सोचमा इजरायल रहेको छ। नेतान्याहूले खामेनीको हत्यालाई ‘४० वर्षको सपना पूरा भयो’ भनेका छन्। पवित्र महिना रमजानमा भएको यस हत्यालाई पुरिम उत्सवको ‘यहुदी मुक्ति’सँग जोडिएको छ।

ग्रेटर इजरायलले प्यालेस्टाइन समस्या समाप्त गर्दैन, बरु विस्तार गर्छ। यसले खाडी देशहरूलाई कमजोर बनाउँछ। अमेरिकाले यसलाई ‘क्षेत्रीय स्थिरता’ भनेको छ। फेब्रुअरीमा इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले ‘ग्रेटर इजरायल’को अवधारणालाई समर्थन गर्दै बयान दिएपछि ठुलो विवाद भएको थियो। उनले एक अन्तर्वार्तामा बाइबलको सन्दर्भ दिँदै इजरायललाई इजिप्टको निल नदीदेखि इराकको युफ्रेटिस नदीसम्मको भूभागमा ‘दैवी अधिकार’ रहेको दाबी गर्दै इजरायलले ती सबै क्षेत्र कब्जा गरेमा ‘ठिकै हुने’ टिप्पणी गरेका थिए। इरान र अन्य अरब राष्ट्रहरूले यसको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र क्षेत्रीय अस्थिरताको कारक भनेका थिए।

युद्धको प्रभाव

इरानको प्रतिक्रियाले स्ट्रेट अफ होर्मुज अवरुद्ध भएको छ, जसबाट विश्वको २० प्रतिशत तेल व्यापार हुन्छ। विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ। खाडी देशहरू युएई, साउदी, कतारले इरानले आफ्नो देशमा गरेको हमलाको निन्दा गरेका छन् तर युद्धमा सामेल नहुने उनीहरूको तयारी छ। चीन र रुसले अमेरिका–इजरायलको निन्दा गरेका छन्। युरोपेली युनियनले ‘संक्रमण’को कुरा गरेको छ तर अमेरिका र इजरायलसँग मैदानमा खटिएर लड्न कोही पनि पूर्ण तयार देखिएका छैनन्। यदि जमिन आक्रमण भयो भने थप अमेरिकी सैनिक हताहत हुने कुरा ट्रम्प आफैंले एक भिडियो बयानमा उल्लेख गरेका छन्।

उनका अनुसार यो युद्ध चार सातासम्म चल्न सक्छ। सत्ता परिवर्तन भयो भने इरान राजतन्त्रमा फर्कने चर्चा छ। त्यसको मौका छोपेर अमेरिकामा निर्वासित राजकुमार रेजा पहलवी एकपछि अर्को सन्देश जारी गरिरहेका छन् तर उनी इरानको सत्तामा फिर्ता आउने कुरा लगभग असम्भव छ। किनभने उनीसँग त्यो जनमत छैन, जसले राज्य सञ्चालन गर्न सकोस्।

अमेरिकाले भेनेजुएलामा पनि विपक्षी नेतालाई नभएर नयाँ सूत्रमा काम गरेको थियो। यदि इरान विभाजन गर्न खोजियो भने त्यसले थप अराजकता निम्त्याउन सक्ने डर छ। ग्रेटर इजरायलले नयाँ युद्ध निम्त्याउन सक्छ। अब फैसला इरानी जनताले आफैं गर्नुपर्छ।

यसैबिच अन्तरिम सर्वोच्च नेता अराफी मारिएको अप्रमाणित खबर पनि बाहिर आएको छ तर यसको कुनै आधिकारिक पुष्टि भएको छैन। उता इरानले इजरायली प्रधानमन्त्री नेतान्याहूको कार्यालय र वायुसेना कमान्डरको निवासमा आक्रमण गरेको दाबी गरेको छ।

 आइआरजिसीका अनुसार नेतान्याहूको अवस्था अनिश्चित छ, यद्यपि यो कुराको पनि पुष्टि हुन सकेको छैन। इरानले युएसएस अब्राहम लिंकन विमानवाहक जहाजमा आक्रमण गरेको दाबी गरे पनि अमेरिकी सेनाले यसलाई झुटो भन्दै जहाज पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ। (एजेन्सीको सहयोगमा)

प्रकाशित: १९ फाल्गुन २०८२ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App