कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थीहरूमाथि भएको प्रहरी क्रूरताको लागि माफी मागेर गृहमन्त्री अमित शाहसँगै राजीनामा दिनुपर्ने माग गरेका छन्।
संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदर्शनकारी विद्यार्थीहरूमाथि दमन गर्ने कुरामा शिक्षामन्त्री धर्मेन्द्र प्रधान एक माध्यम मात्र भएको दाबी गरेका छन्। गान्धीका अनुसार यस घटनामा मुख्य जिम्मेवार गृहमन्त्री शाह र प्रधानमन्त्री मोदी हुन्।
उनले भने, ‘पक्कै पनि, उनले (धर्मेन्द्र प्रधानले) राजीनामा दिनुपर्छ, तर धर्मेन्द्र प्रधानले यी विद्यार्थीहरूलाई कुटेका होइनन्। तर गृहमन्त्री (अमित शाह) ले कुटेका छन्, उनले राजीनामा दिनुपर्छ र गृहमन्त्रीले प्रधानमन्त्री (नरेन्द्र मोदी) लाई रिपोर्ट गर्छन्, उनले पनि राजीनामा दिनुपर्छ।’
सोमबार मनसुन सत्रको पहिलो दिन शिक्षा र परीक्षा प्रणालीको विरोध गर्दै हजारौं युवा र आक्रोशित मानिसहरू शिक्षामन्त्री प्रधानको राजीनामाको लागि दबाब दिन संसद् नजिकै भेला भएका थिए। तर, प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेर प्रदर्शनकारीहरूलाई पछि धकेलेको थियो। मंगलबार फेरि उनीहरू सो क्षेत्रमा जम्मा भएका छन्। प्रधानको राजीनामा नलिइ नजाने अडान उनीहरूको छ।
गान्धीले बिहान अन्य सांसदहरूसँगै लोकसभाका अध्यक्ष ओम बिरलालाई भेटेर विपक्षीले विद्यार्थीहरूको मुद्दामा संसदमा छलफल गर्न चाहेको बताएका थिए। तर, सभामुखले सरकारबाट अनुमति लिनुपर्ने बताएको उनले जानकारी दिए। यस विषयमा उनले भने, ‘उहाँले सरकारलाई सोध्नुपर्ने भन्नुभयो। त्यसैले, सभामुखले हामीलाई संसदमा बहस गर्न सरकारबाट अनुमति लिनुपर्ने बताइरहनुभएको छ।’
प्रदर्शनकारी विद्यार्थीहरूमाथि भएको प्रहरी दमनलाई भारतीय संस्कार नभएको भन्दै गान्धीले प्रधानमन्त्री मोदीले घटनाको लागि अहिलेसम्म माफीसमेत नमागेको बताए। देशको शिक्षा र परीक्षण प्रणाली धमिराले खोक्रो बनाइसकेको र अस्तित्वमा नरहेको दाबी गर्दै उनले भने, ‘यसमा केही गलत छैन। हामी यसबारे एकपछि अर्को प्रस्तुतीकरण गरिरहेका छौं। प्रधानमन्त्री किन मौन छन् ? कारण के हो ? उनले विद्यार्थीहरूसँग माफी माग्नुपर्छ र प्रहरीले विद्यार्थीहरूलाई कुटपिट गर्ने यो बकवास बन्द हुनुपर्छ।’
साथै, नेता गान्धीले मंगलबार नयाँ दिल्लीको राम मनोहर लोहिया अस्पताल पुगी प्रहरी कारबाहीमा घाइते भएका विद्यार्थीहरूलाई भेटेका छन्। राहुलसँगै गएकी कांग्रेस सांसद प्रियंका गान्धी वाड्रालेले विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भइरहेको भन्दै सरकारको कडा आलोचना गरिन्।
प्रकाशित: ५ श्रावण २०८३ १४:५४ मंगलबार




-600x400.jpg)
