नर्वेको संसद्ले मंगलबार राजतन्त्र कायम राख्ने पक्षमा मतदान गरेको छ। फेब्रुअरी ३ मा भएको मतदानमा राजतन्त्रका पक्षमा १४१ मत पर्यो भने विपक्षमा २६ मत मात्र परेको थियो। सोही कारण गणतन्त्रको प्रस्ताव असफल भयो।
राजपरिवारको हालैका ठुला विवाद र लोकप्रियतामा गिरावट आए पनि संसद्ले यो निर्णय गरेको हो। समर्थकहरू भन्छन्, ‘यो संस्थाले पक्षपातपूर्ण राजनीतिभन्दा माथि रहेर स्थिरता ल्याउँछ। सन् १९०५ मा स्विडेनबाट स्वतन्त्र भएदेखि नै यसले नर्वेलाई राम्रोसँग सेवा गर्दै आएको छ।’
विपक्षीहरूको तर्क अनुसार राजनीतिक शक्ति पहिले नै निर्वाचित संसद् र सरकारमा निहित छ। राजपरिवारको वंशाणुगत विशेषाधिकार लोकतान्त्रिक समाजमा सम्बन्धित छैन।
‘प्रायोजकहरूले संविधान संशोधन गर्न खोजिरहेका छन् ताकि नर्वेको राष्ट्रप्रमुख जनताद्वारा निर्वाचित होस्, अर्थात् राष्ट्रपति,’ सात सदस्यको असफल प्रस्तावमा भनिएको थियो।
प्रधानमन्त्रीले क्राउन प्रिन्सेस मेट्टे-मारिटले स्वर्गीय जेफ्री एपस्टाइनसँग गरेको सम्पर्कलाई कमजोर निर्णय बताइन्। नयाँ फाइलहरूले सन् २०११ देखि २०१४ सम्म चिठीपत्र आदान-प्रदान भएको देखाएपछि उनले यो सम्बन्ध ‘लज्जास्पद’ र ‘गल्ती’ भएको स्वीकार गरिन्। पीडितहरूप्रति सहानुभूति जनाउँदै उनले ‘कमजोर निर्णय’ देखाएको बताइन्। गत शनिबार सिंहासनका उत्तराधिकारी हाकोनकी श्रीमती मेट्टे-मारिटले सन् २००८ मा एपस्टाइनलाई बाल यौन अपराधमा दोषी ठहराइएपछि भएको सम्पर्कका लागि माफी समेत मागेकी थिइन्।
भर्डेन्स ग्याङ सर्वेक्षणअनुसार ६१ प्रतिशत नर्वेजियनहरूले राजपरिवार यथावत् राख्न चाहन्छन्, जुन गत वर्ष ७२ प्रतिशत थियो। गणतन्त्रको समर्थन २७ प्रतिशत पुगेको छ। मेट्टे-मारिट रानी बन्नेमा ४४ प्रतिशतले ‘हुँदैन’ भनेका छन् भने ३३ प्रतिशतले मात्र ‘हुन्छ’ भनेका छन्।
मेट्टे-मारिटको अघिल्लो सम्बन्धबाट जन्मिएका २९ वर्षीय मारियस होइबीमाथि बलात्कार (४ वटा), घरेलु हिंसा, आक्रमण, लागूऔषध र अन्य गरी ३८ आरोप लागेका छन्। उनले गम्भीर आरोपहरू (बलात्कारसहित) अस्वीकार गरेका छन् भने केही साना आरोपहरू स्वीकार गरेका छन्। हालै पक्राउ परेका उनीमाथि मुद्दा चलिरहेको छ। एजेन्सी
प्रकाशित: २३ माघ २०८२ ०८:५६ शुक्रबार





