२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यमनको तट नजिक डुंगा पल्टिँदा ६० बढी अफ्रिकी आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

आइतबार यमनको दक्षिणी प्रान्त अबयान नजिकको पानीमा १ सय ५४ जना आप्रवासी बोकेको डुंगा पल्टिँदा ६८ अफ्रिकी आप्रवासीको मृत्यु भएको र ७४ जना अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले जनाएको छ। यो घटना यमनको समुद्री किनारमा भएको पछिल्लो डुंगा दुर्घटना हो, जहाँ सयौँ अफ्रिकी आप्रवासीहरू द्वन्द्व र गरिबीबाट भागेर खाडीका धनी अरब मुलुकतर्फ जान खोज्दा ज्यान गुमाउँदै आएका छन्।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका यमन प्रमुख अब्दुसत्तोर एसोएभका अनुसार उक्त डुंगामा सवार सबै १५४ जना इथियोपियाली आप्रवासी थिए। डुंगा यमनको दक्षिणी प्रान्त अबयानको खाडी क्षेत्रमा आइतबार बिहान डुबेको हो।उनका अनुसार ५४ जनाको शव खानफार जिल्लाको किनारमा भेटिएको छ भने १४ जनाको शव जिनजिबार सहरको अस्पतालको शवगृहमा लगिएको छ। जिनजिबार, अबयानको राजधानी हो।

एसोएभका अनुसार यो दुर्घटनाबाट मात्र १२ जना आप्रवासी जीवितै उद्धार गर्न सकिएका छन् भने बाँकी सबै बेपत्ता छन् र मृत मानिएको छ। अबयान सुरक्षा निर्देशनालयले घटनाबारे एक विज्ञप्ति जारी गर्दै, ठुलो सङ्ख्यामा मृतक र बेपत्ताहरू भएकोले विशाल खोज तथा उद्धार अभियान सञ्चालन गरिएको जनाएको छ। विज्ञप्तिमा धेरै शवहरू समुद्री किनारमा फराकिलो क्षेत्रमा छरिएर भेटिएको जनाइएको छ।

यमनमा दशकभन्दा बढी लामो गृहयुद्ध भइरहे पनि, पूर्वी अफ्रिका र हर्न अफ अफ्रिकाबाट खाडी अरब देशतर्फ जाने आप्रवासीहरूका लागि यमन मुख्य मार्ग बनेको छ। आप्रवासीहरू प्रायः स्मगलरहरूको भरमा, धेरैजसो अत्यधिक भिडभाड भएका र खतरनाक डुंगाहरू मार्फत रातारात रेड सी वा अडेनको खाडी पार गर्दै जान खोज्छन्।

सन् २०२४ को मार्चमा पनि यस्तै डुंगा दुर्घटनामा २ जना आप्रवासीको मृत्यु र १८६ जना बेपत्ता भएका थिए, जब यमन र जिबुटी नजिक ४ वटा डुंगा पल्टिएका थिए। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनकाको मार्चको प्रतिवेदन अनुसार, २०२४ मा हालसम्म ६०,००० भन्दा बढी आप्रवासीहरू यमन पुगेका छन्, जुन २०२३ को ९७,२०० को तुलनामा कम हो। यस घट्ने कारण सम्भवतः समुद्री क्षेत्रमा बढ्दो गस्ती र निगरानी भएको हुनसक्ने बताइएको छ। एजेन्सी

प्रकाशित: १९ श्रावण २०८२ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App