इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको छ वा सात दिने अन्त्येष्टि समारोहमा चार करोड १० लाख देखि चार करोड ३० लाख मानिस सहभागी भएको दाबी गरिएको छ।
इरानको प्रेस टिभीले यो अन्त्येष्टिलाई ‘विश्वले देखेको सबैभन्दा ठूलो जुलुस’ भनेको छ। तेहरान, कोम, नजफ, कर्बला र मशहद गरी पाँच शहरमा यो समारोह आयोजना गरिएको थियो। गत शनिबार तेहरानको ग्रान्ड मोसल्ला धार्मिक परिसरबाट सुरु भएको औपचारिक अन्त्येष्टि समारोहमा खामेनीको शव प्रदर्शनमा राखिएको थियो।
उक्त समारोहमा हमास, इस्लामिक जिहाद, हिजबुल्लाह र हुथी विद्रोहीका प्रतिनिधिमण्डलको समेत उपस्थिति थियो। तेहरानस्थित आफ्नै परिसरमा भएको अमेरिकी-इजरायली हवाई आक्रमणमा मारिएको चार महिनाभन्दा बढी समयपछि उनलाई देशको पवित्र शिया तीर्थस्थल (इमाम रेजा दरगाह) मा गाडिएको छ।
यसैबिच, इरानसँगको प्रतिशोधात्मक हमला र हालैका अमेरिकी सैन्य प्रहारका बाबजुद अमेरिकाले तनाव कम गर्ने प्रयास गरिरहेको एक अमेरिकी अधिकारीले बताएका छन्। उनले वासिङ्टन तेहरानसँग वार्ता गर्न प्रतिबद्ध रहेको र प्राविधिक वार्ता जारी रहेको जानकारी दिएका छन्। इरानले खाडीमा रहेका अमेरिकी सैन्य अखडामा प्रहार गरेको दाबी गरेको छ।
दुई राष्ट्रबिचको द्वन्द्वका कारण होर्मुजको जलमार्गमा अमेरिकी समर्थन प्राप्त ढुवानी घटेको छ, जसले ऊर्जा बजारलाई थप प्रभावित बनाएको छ। यसअघि, इरानको आणविक कार्यक्रम र होर्मुजमा जलयात्राको स्वतन्त्रतामा केन्द्रित नेटो शिखर सम्मेलनलाई तेहरानले राजनीतिक रूपमा प्रेरित भन्दै खारेज गरेको थियो।
अर्कोतिर, प्यालेस्टिनी प्राधिकरणले जोर्डन, कुवेत र बहराइनमा इरानी आक्रमणको निन्दा गर्दै ती राष्ट्रहरूसँग ऐक्यबद्धता जनाएको छ। हाल मध्यपूर्वमा केही समयका लागि सैन्य गतिविधि रोकिए पनि पुनः सुरु भएको अमेरिकी हमला र इरानी प्रत्याक्रमणका कारण ऊर्जा बजार र कूटनीतिक क्षेत्रमा यसको गम्भीर असर देखिएको छ।
अर्कोतर, गाजामा इजरायली हवाई हमलामा मारिएका सहायताकर्मीको स्मृतिमा प्यालेस्टिनीहरू भेला भएका छन्। इजरायलका रक्षामन्त्री इजरायल काट्जले आफ्नो देश आवश्यक परेमा इरानविरुद्ध अझ ठूलो शक्तिका साथ आफ्नो सैन्य अभियान पुन: सुरु गर्न तयार रहेको चेतावनी दिएका छन्।
तस्बिर : एपी

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित: २६ असार २०८३ १३:०८ शुक्रबार





