२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गोवाको नाइट क्लबमा भीषण आगलागी : मृतक संख्या २३ पुग्यो, धेरैको सिँढीमै निसास्सिएर मृत्यु

भारतको गोवा राज्यको अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। घाइतेको संख्या यकिन भइसकेको छैन।

प्रहरीका अनुसार स्थानीय समय अनुसार राति करिब १२ बजेतिर भुइँतलाको भान्छाबाट आगो सुरु भई माथिल्ला तलासम्म फैलिएको थियो। धेरैजसो शव भान्छा क्षेत्र र सिँढीमा भेटिएका छन्। भाग दौडमा सिँढीमै दुई जनाको ज्यान गएको थियो।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय विधायक माइकल लोबो तुरुन्तै घटनास्थल पुगेका थिए। मुख्यमन्त्री सावन्तले मृतकमध्ये तीन महिला र तीन–चार जना पर्यटक रहेको बताए। उनले भने, ‘तीन जनाको जलेर र बाँकी निसास्सिएर मृत्यु भएको देखिन्छ।’

गोवाका डीजीपी आलोक कुमारले भने, ‘सुरुमा आगो भुइँ तल्लाको भान्छाबाट क्लबको अन्य भागहरूमा फैलिएको थियो। त्यसैले, धेरैजसो शव भान्सा क्षेत्रमा भेटिएको थियो। भाग्ने प्रयास गर्दा दुई जनाको सिँढीमा मृत्यु भएको थियो।’

प्रारम्भिक अनुसन्धानमा नाइट क्लबले आगो सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ। घटनास्थल सिल गरिएको छ भने फरेन्सिक टोलीले विस्तृत अनुसन्धान थालेको छ।

मुख्यमन्त्री सावन्तले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज गोवाको लागि धेरै दुखद दिन हो। अर्पोरामा भएको ठुलो आगलागीमा २३ जनाको मृत्यु भएको छ। म गहिरो दुःखी छु र यस कठिन समयमा सबै प्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। मैले स्थितिको मूल्याङ्कन गर्न घटनास्थलको भ्रमण गरेको छु र घटनाको अनुसन्धानको आदेश दिएको छु।’

जिम्मेवार जोसुकै भए पनि कडा कारबाही हुने र लापरबाहीमा शून्य सहनशीलताको नीति अपनाइने अधिकारीहरूले बताएका छन्।

प्रकाशित: २१ मंसिर २०८२ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App